कोहलपुरमा महिलाहरूका लागि गुडिया बनाउने तालिम सुरु
बाँके। लक्ष्मी बुटिक एण्ड ट्रेनिङ सेन्टरले कोहलपुरको हवल्दारपुरमा महिलाहरूका लागि गुडिया बनाउने तालिम सुरु गरेको छ। सात दिने उक्त तालिम सेन्टरले आफ्नै लगानीमा सञ्चालन गरेको हो।
सञ्चालक लक्ष्मी सुनारका अनुसार तालिमले महिलाहरूलाई व्यवसाय गर्न सहज बनाउने विश्वास गरिएको छ। तालिम उद्घाटन गर्दै कोहलपुर नगरपालिका वडा नं. १४ का अध्यक्ष तथा नगर प्रवक्ता नम बहादुर आलेले सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकता दिइने बताए। उनले आगामी दिनमा ट्रेनिङ सेन्टरसँग समन्वय गरी थप तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
यस्तै, कोहलपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष ओपेन्द्रनाथ योगीले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले महिलाहरूको सीप विकासका लागि निरन्तर सहयोग रहने बताए।
सञ्चालक सुनारले पछाडि परेका महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको बताइन्। उनका अनुसार महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै व्यवसायी बनाउन यो अभियान कोशेढुंगा सावित हुनेछ।
उक्त तालिममा वडा नं. १४ का १५ जना महिलाहरू सहभागी छन्।
प्रतिक्रिया राख्नुहोस्