फ्रेन्ड्सद्वारा मच्छिन्द्र क्लब पराजित
काठमाडौँ । फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा बुधबार मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–० को सहज जित दर्ता गरेको छ ।
जितसँगै १८ खेलमा ३६ अङ्क जोडेको फ्रेन्ड्स तेस्रो स्थानमा उक्लिएको छ । पराजित मच्छिन्द्र समान खेलबाट २६ अङ्कका साथ छैटौँ स्थानमा छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन अरुण अधिकारी र सञ्जीव गोलेले गोल गरे ।
मनिष नेपालीले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि मच्छिन्द्र १० खेलाडीमा समेटिएको थियो ।
अर्को खेलमा हिमालय शेर्पा क्लबले एफसी खुमलटारविरुद्ध ३–१ गोलको सहज जित दर्ता गरेको छ ।
जितसँगै २० खेलमा १७ अङ्क जोडेको हिमालयन शेर्पा नवौं स्थानमा छ । पराजित खुमलटार १९ खेलबाट ९ अङ्कका साथ १०औँ स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा हिमालयन शेर्पालाई जित दिलाउन प्रवेश आङबुहाङ, नेहाल काङ्बा लिम्बु र सुजन स्याङताङले गोल गरे । खुमलटारका लागि दिनेश शाहीले गोल गरे ।
प्रतिक्रिया राख्नुहोस्