तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु 

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु भएको हो ।

त्रिपिटकको बुधबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहबिच त्रिपिटक (पाठ) को उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै सिंहले विश्वभर अस्थिरताको सङ्केत देखा परेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताउनुभयो । उहाँले बुद्धको शिक्षाहरूलाई पुर्नताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने बताउनुभयो । 

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ । उहाँले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धका उपदेशहरूलाई विश्वभर फैलाउन त्रिपिटक पाठ समारोह फलदायी हुने बताउनुभयो। उहाँले त्रिपिटक पाठ बुद्धका शिक्षाहरूको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठूलो सङ्ख्यामा गर्दै जानुपर्ने बताउनुभयो । उपाध्यक्ष लामाले आगामी दिनमा सरकार र लुम्बिनी विकास कोषले समेत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ गर्ने बताउनुभयो।

उहाँले बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेको बताउँदै एक अर्ब बढी बुद्धिस्टहरूलाई लुम्बिनीमा आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी शान्ति र बुद्ध दर्शनको उत्पत्ति भएको स्थान भएकाले यहाँबाट शान्तिको सन्देश फैलाउन सकिने बताउनुभयो।

समारोहमा आठौँ संघनायक नेपालका भिक्षु बोधिसेन महास्थविरले लुम्बिनी आउँदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामको सट्टा बुद्धभूमि राख्दा त्यसले विश्वभर सन्देश जाने बताउनुभयो । उहाँले त्रिपिटक पाठ यहाँ गर्दा मायादेवी भन्दा त्यसले लुम्बिनीलाई ओझेलमा पारेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङले लुम्बिनी क्षेत्र अँध्यारो देखिएको बताउँदै मायादेवी परिसर सहितको क्षेत्रलाई ‘स्प्रिच्यूल लाईटिङ’ बनाउने प्रतिबद्धता जनाउनुभयो । 

त्रिपिटक उद्घाटन समारोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासङ्घका सभापति भिक्षु धम्मसोभन महास्थविर, महासचिव महासचिव भिक्षु धर्मगुप्त महास्थविर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोंछे जगछुप छोदेन, श्रीलङ्काका राजदूत चमेरा रुवाङ्गी मुनासिंगे, थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, म्यानमारका राजदूत म्यूम्यून्ट माउङ, उपासक वाङमो डिक्सिले बोल्दै लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रयहरुको पवित्र स्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

त्रिपिटक पाठ वाचन समारोहमा विभिन्न देशबाट आएका भिक्षु,लामा, उपासक उपासिका सहित लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलङ्का, थाइल्याण्ड तथा म्यानमारबाट समेत पाहुनाहरूको उपस्थिति रहेको थियो ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थका रुपमा त्रिपिटकलाई लिइन्छ । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो ।

हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । आगामी २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोहमा बर्षाका कारण मायादेवी परिसरमा गरिने भनिएको त्रिपिटक वाचन बिहान साँढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ हुने प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button