तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध राष्ट्र निर्माणमा सरकार क्रियाशील : प्रधानमन्त्री ओली (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग, क्षेत्र, समुदायको समान अवसर र प्रतिस्पर्धासहित समृद्ध राष्ट्र निर्माणमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन तथा मानव अधिकार एलाइन्सको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भयरहित समाज निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा निरपेक्ष गरिबीभित्र रहेका बालबालिकाहरूको अधिकार हनन् हुन नदिई उनीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न सरकारले काम गरिरहेको समेत बताउनुभयो । 

प्रधानमन्त्री ओलीले मुलुकमा गणतन्त्रपछि व्यवस्था मात्र नभई अवस्थामा समेत परिवर्तन आएको र राज्यका विभिन्न तहमा महिलाको उल्लेख्य सहभागिताले आर्थिक तथा सामाजिक रूपान्तरण ल्याएको पनि प्रष्ट पार्नुभयो ।

कार्यक्रममा अग्रज पत्रकार तथा लेखक भैरव रिसाललाई यस वर्षको केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा पत्रकार रिसाललाई नागरिकको सूचनाको आधारभूत अधिकार प्रत्याभूत गराउँदै आमसञ्चार, भाषा र संस्कृतिको उन्नयनमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै एक लाख रुपैयाँ राशिको पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको हो ।

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले एलाईन्सद्वारा पहिलो पटक स्थापित केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार अग्रज पत्रकार रिसाललाई प्रदान गर्नुभयो । एलाइन्सले प्रत्येक वर्ष केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार प्रदान गर्ने जनाएको छ ।

कार्यक्रममा नेकपा (एमाले)को जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, एलायन्सका इञ्चार्ज विष्णु रिजाल, नेपाली काँग्रेसका सामाजिक सेवा विभाग प्रमुख दलबहादुर रावल, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष राम सुवेदीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button