युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरलाई स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताको उपाधि
बाँके। युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरले तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि जितेको छ।
कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरले नेशनल क्रिकेट एकेडेमी लम्कीलाई ६८ रनले पराजित गर्दै उपाधि उचालेको हो।
फाइनल खेलमा टस जितेर फिल्डिङ रोजेको नेशनल क्रिकेट एकेडेमी लम्कीका बलरहरू युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरलाई रोक्न असफल रहे। पहिलो ब्याटिङ गरेको कोहलपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो। निर्मल गुरुङले सर्वाधिक २९ रन बनाउँदा, प्रणित थापाले २५ र अनिमेश शाहीले २४ रनको योगदान दिए। लम्कीका हेमन्त क्षेत्रीले ३ विकेट लिँदा कवि बमले २ विकेट लिए।
१६४ रनको लक्ष्य पछ्याएको नेशनल क्रिकेट एकेडेमी लम्की १९.५ ओभरमा ९५ रनमै समेटियो। आशिष लोहारले सर्वाधिक २४ रन बनाए भने कवि बमले १६ रन जोडे। कोहलपुरका सुजात हुसेनले ४ विकेट र सुनिल सुनारले २ विकेट लिए।
समापन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रमुख अतिथि बसन्ति अधिकारीले युवालाई खेलकुदमार्फत सकारात्मक दिशामा लैजानुपर्ने आवश्यकता औंल्याइन्। कार्यक्रममा कोहलपुर वडा नं. ११ का अध्यक्ष कल्पना अधिकारी, वडा नं. ५ का अध्यक्ष दीपेन्द्र श्रेष्ठ, राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह, समाजसेवी दीपेन्द्र कठायत लगायतले पनि मन्तव्य राखेका थिए।
विजेता युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरलाई १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो। उपविजेता नेशनल क्रिकेट एकेडेमी लम्कीले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
स्व. वीरेन्द्र शाहीको स्मृतिमा आयोजित यो प्रतियोगिता कोहलपुर २ स्थित युनाईटेड भिजन क्रिकेट क्लबले आयोजना गरेको थियो। नकआउट चरणमा खेलाइएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरेका थिए।








प्रतिक्रिया राख्नुहोस्