तपाईँ सुन्दै हुनुहुन्छः

“बिआरआई तत्काल कार्यान्वयन गर्नुपर्छ”

बेइजिङ, चीन I नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाले नेपालले बिआरआई तत्कालै कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले आफू नेपाल गएपछि यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गर्ने बताउनु भयाे ।

चीनको राजधानी बेइजिङमा रिनमेन युनिर्भसिटीका प्रोफेसरहरू सँग भएको बेल्ट एण्ड राेड इनिसिएटिभ (बिआरआई) सम्बन्धि छलफल कार्यक्रममा कांग्रेस नेता एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री कोइरालाले बिआरआई अनुदान नभइ पारस्परिक सहयोग कार्यक्रम भएको र सरकारले सोही अनुसार सम्झौता गरेको कुरामा सबै राजनीतिक दल र नागरिक प्रष्ट हुनुपर्ने बताउनुभयो । 

उहाँले नेपाली स्वाभिमान भएकोले चीन लगायत कुनै पनि देशबाट अनुदान लिन नहुने समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘बिआरआईले नेपाललाई स्वाधीन र स्वतन्त्र बनाउन सहयोग गर्छ’ । नेता कोइरालाले नेपालमा विकास नहाेस भन्नेहरूले अनुदानको कुरा उठाएर बिआरआईकाे विरोध गरिरहेको आरोप समेत लगाउनुभयो । उहाँले नेपालमा कृषिक्षेत्र महत्वपूर्ण भएकोले बिआरआई मार्फत कृषि क्षेत्रकाे आधुनिकीकरणमा सहयोग हुनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा रिनमेन युनिर्भसिटीका प्रोफेसर छ्याे लुले बिआरआई अनुदान नभै ऋण सहयोग भएको प्रष्ट पार्नुभयो । उहाँले बिआरआईबाट विशेषगरी भूपरिवेष्टित मुलुकले फाइदा लिन सक्ने बताउनुभयो । 

प्रोफेसर छ्याे लुले बिआरआई सम्झौता अहिलेसम्म १५२ मुलुकसँग भएको र यसबाट चीन लगायत सबै लाभान्वित हुने बताउनुभयो । प्रोफेसर लुले धेरैले बिआरआईबाट तत्कालै लाभ खोज्ने गरेको प्रसङ्ग उल्लेख गर्नुहुँदै त्यो सम्भव नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘तर बिआरआईबाट दीर्घकालीन रूपमा धेरै फाइदा छ’ ।

कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि मण्डलको तर्फबाट नेता सुजता कोइराला, दोलखा सभापति बर्मा लामा, पूर्व सांसद किरण यादव, नेता देवराज चालिसे, नेपाली कांग्रेस सिन्धुलीका पूर्व सभापति उज्ज्वल प्रसाद बराल, तुलसा थापामगर लगायत १५ जना र फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालको तर्फबाट वरिष्ठ कलाकार कृष्ण मल्ल, फिल्म निर्देशक आरएम नकर्मी, पत्रकार चिरञ्जीवी मास्के, गोकर्ण भण्डारी तथा कृष्ण मल्ल  सहभागी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button