जनचाहना अनुसार नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

सुर्खेत । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थायी सरकार र दिगो विकासका लागि दुई दल मिलेर सरकार बनाउनुपरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री सिंहले जनचाहना अनुसार संविधान संशोधन गर्दै स्थायी सरकार निर्माणका लागि नेपाली काँग्रेस र नेकपा एमाले दुई ठुला दल मिलेर सरकार बनाएको बताउनुभयो ।
सेवा प्रवाहमा देखिएको असहजतालाई सहज बनाउन अध्यादेश ल्याइएको भन्नुहुँदै उपप्रधानमन्त्री सिंहले केही दिनभित्रै अध्यादेश पारित हुने बताउनुभयो ।
प्रधानमन्त्रीसँग भएको कार्य सम्पादन मूल्याङ्कन अनुसार मन्त्रालयहरूले काम गरिरहेको बताउँदै उपप्रधानमन्त्री सिंहले विधान र संविधानको परिधिभित्र रहेर नेपाली काँग्रेसको पार्टी अधिवेशन हुने स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको भन्नुहुँदै प्रतिस्पर्धा विधि र विधानअनुसार हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रुपमा लिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्