‘तराई–मधेशका जनताको भावना बुझ्न अभियान केन्द्रित’
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्गको बाँकी काम पुरा गराउनका लागि दबाब दिन तथा मधेशको माग पुरा गराउन पार्टी दृढतापूर्वक अगाडी बढेको बताउनुभएको छ ।

पार्टीको पूर्व पश्चिम हुलाकी राजमार्ग केन्द्रीय “जनतासँग माओवादी तराई मधेश अभियान” अन्तर्गत आज धनुषाको हंसपुर नगरपालिकाको सोनगम्ममा आयोजित सभामा अध्यक्ष प्रचण्डले विगतमा मधेशी तथा उत्पीडितहरूको सहयोगमा नै माओवादी आन्दोलन सफल भएको, मधेशी जनताको पक्षमा माओवादीले काम गरेका कारणले नै हुलाकी राजमार्गको निर्माणमा गति आएको र नागरिकता सम्बन्धि अध्यादेश ल्याएको दाबी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले हुलाकी राजमार्गमा पर्ने कमला पुलको शीघ्र निर्माण हुनुपर्ने स्थानीय जनताको मागको साथमा पार्टी भएको बताउँदै उक्त पुल छिटो भन्दा छिटो निर्माण हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले यस पटकको अभियान जनता केन्द्रित भएको र जनताको भावना बुझ्ने काम गरिरहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले मधेशी जनताको पक्षमा नेकपा माओवादी केन्द्र सधैँ इमानदार रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा माओवादी अभियानमा रहनुभएका पुराना वामपन्थी नेता महेन्द्र राय यादवले पनि बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्