जनकपुरधाममा म्याराथन प्रतियोगिता हुने
जनकपुरधाम । जनकपुरधामको मदर टेरेसा पब्लिक स्कुलको आयोजनामा फाल्गुन २४ गते जनकपुरधाममा ६ किलोमिटरको खुल्ला म्याराथन प्रतियोगिताको आयोजना हुने भएको छ ।

विद्यालयले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पर्यावरण र महिला सुरक्षाका लागि हुने म्याराथन प्रतियोगितामा १६ वर्ष देखि माथिका उमेरका सबै व्यक्ति सहभागी हुन पाउने आयोजकले जनाएको हो ।
विद्यालयका निर्देशक अभिषेक कुमार चौधरीले म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई ११ हजार नगदसहित प्रमाणपत्र दिने जानकारी दिनुभयो ।
विगत केही समय यता महिला हिंसाको घटनामा वृद्धि भएको र वातावरणमा आएको नकारात्मक प्रभावप्रति जनचेतना फैलाउनका लागि म्याराथन प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डा. भरत जोशीले जानकारी दिनुभयो ।
प्रतियोगिताको मार्ग भानु चोकबाट शुरु भएर कदन चोक, मुरली चोक, जीरोमाईल, रामानन्द चोक, हस्पिटल रोड, जानकी चोक हुँदै जनक चोक शिव चोक भएर पुनः भानु चोकमा पुगेर समापन गरिने विद्यालयका निर्देशक चौधरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्