बाजुरामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध
बाजुरा। बाजुरामा तीन दिनदेखि निरन्तर विद्युत सेवा अवरुद्ध भएको छ। सदरमुकाम मार्तडी, बिढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा जडान गरिएको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको हो।
बिहीबार रातिदेखि आएको समस्या समय-समयमा विद्युत आउने-जाने गरे पनि दिनभर पूर्ण रूपमा अवरुद्ध भइरहेको छ।
नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका प्रमुख राजेश झाका अनुसार, फागुन १५ गते रातिदेखिको भारी वर्षाले विभिन्न स्थानमा रुख ढलेर तार चुँडिनु र तार सट हुने समस्याका कारण विद्युत सेवा अवरुद्ध भएको हो। अछामको साँफेबगरदेखि मार्तडीसम्मको लामो लाइन भएकाले विद्युत आपूर्तिमा समस्या देखिएको उनले बताए।
हाल तीनवटा फेजमध्ये दुईवटा फेजको समस्या समाधान भइसकेको र तेस्रो फेज मर्मतका लागि प्राविधिक टोली खटिएको विद्युत प्राधिकरण वितरण शाखा बाजुराले जनाएको छ। समस्या समाधान भएलगत्तै विद्युत सेवा नियमित गरिने बताइएको छ।







प्रतिक्रिया राख्नुहोस्