तपाईँ सुन्दै हुनुहुन्छः

कार्यक्रम र समाचारमा नागरिक सरोकारका विषयलाई महत्व दिनुपर्छ : अध्यक्ष डा विष्ट

विराटनगर । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणलाई प्रभावकारी बनाउन कार्यक्रम तथा समाचारमा नागरिक सरोकारका विषयलाई  महत्व दिनुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजन इटहरी च्यानलले आज इटहरी स्थित एनटिभि च्यानलको कार्यालयमा आयोजना गरेको विचार गोष्ठीमा उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तर भई सकेकाले अब दुवै संस्थाले अवसरको रुपमा प्रयोग गर्दै यसलाई सफल बनाउनुपर्ने  बताउनुभयो ।

राष्ट्रिय एकता, विपद् र मुलुकको संवृद्धि सार्वजनिक सेवा प्रसारणका पिलर भएकाले यसलाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम उत्पादन तथा समाचार प्रसारणका लागि कन्टेन्ट तयार गर्नुपर्ने उहाँको भनाई थियो । 

सार्वजनिक सेवा प्रसारण सञ्चालक समितिका सदस्य डा भूमिराज चपागाईले, जनताको आवश्यकता, सवाल र समस्यालाई सम्बोधन हुने गरी कार्यक्रम प्रसारण गर्न सके सार्वजनिक सेवा प्रसारण प्रभावकारी र उपयोगी हुने बताउनुभयो ।

रेडियो नेपाल योजना विकास विस्तार महाशाखा प्रमुख पुष्करराज गौतमले विराटनगर स्थित तारिणिप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा रेडियो नेपालले महानगर एफएम सञ्चालन गरिरहेकाले त्यहाँ रहेको सुविधा सम्पन्न प्रविधियुक्त गीत रेकर्डिङ स्टुडियोहरूलाई प्रयोग दुवै संस्थाको सहकार्यमा यसलाई रेडियो नेपालको दोस्रो च्यानलको रुपमा सञ्चालन गर्न सकिने बताउनुभयो ।

रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा वस्तीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई बढी भन्दा बढी जनताले सुन्न  र हेर्न सक्ने बनाउने गरि कार्यक्रम प्रसारण हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले दुवै संस्था सार्वजनिक सेवा प्रसारणमा रूपान्तर हुनु खुसीको कुरा भएकाले यसलाई सफल बनाउन संस्थामा कार्यरत कर्मचारीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । 

अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको महत्व र यसको गतिविधिको विषयमा कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button