तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज गोल्डकप : उद्घाटन खेलमा वीरगन्ज युनाईटेड विजयी

वीरगञ्ज । वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८१ को आज सम्पन्न उद्घाटन खेलमा भारतको गरवाहल डाईमण्ड क्लब दिल्लीको आत्मघाती गोलले वीरगन्ज युनाईटेड विजयी भएको छ । 

वीरगन्जको आदर्शनगर रङ्गशालामा शुरु भएको उद्घाटन खेलमा दोस्रो हाफको ५२ औँ मिनेटमा दिल्लीको जर्सी नम्बर ८ का खेलाडी सन्दीप रानाको आत्मघाती गोलका कारण वीरगन्ज युनाईटेड ० का  विरुद्ध १ गोलले विजयी भएको छ । 

आज सम्पन्न खेलको उत्कृष्ट खेलाडी वीरगन्ज युनाइटेडका विपिन मगर घोषित भएका छन् । भोलीको खेल शहलेश फुटबल क्लब सिरहा र सङ्कटा फुटबल क्लब काठमाडौँबिच हुने कार्यक्रम रहेको आयोजक भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले बताउनुभयो ।  

मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८१ को आज एक भव्य कार्यक्रमका बिच वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले उद्घाटन गर्नुभएको थियो । 

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सिंहले युवाहरूलाई खेलतर्फ आकर्षण गर्न महानगरले लगानी गरिरहेको बताउनुभयो ।

भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता फागुन २४ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालन हुने आयोजक क्लबका उपाध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगितामा वीरगञ्ज युनाईटेड, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब, सर्लाही, शहलेश फुटबल क्लब, सिरहा, मछेन्द्र फुटबल क्लब, काठमाडौँ, गरवाहल डाईमण्ड क्लब, दिल्ली, एपिई पावर चर्च ब्वाईज युनाईटेड, काठमाडौँ र सङ्कटा फुटबल क्लब, काठमाडौँ गरी ८ टोलीको सहभागिता रहेको छ । 

गोल्डकप प्रतियोगितामा प्रथम हुने टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

यस्तै सर्वोत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कूटी तथा ट्रफी, वेस्ट किपरले २० हजार, वेस्ट कोचले २० हजार तथा प्रत्येक दिनको खेलमा मैन अफ द म्याचले १० हजार प्राप्त गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button