लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरु गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हँुदै समाजकै लागि घातक रूपमा देखापरिरहेको बताउनुभयो ।
“लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकारात्मक असर पारेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।”
लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।
“लागुऔषध प्रयोगकर्ताको जीवन समाप्तितर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरू अपराधको पनि वृद्धि गरेको छ”, उहाँले भन्नुभयो, “समाजमा विविध खालको अपराध वृद्धि भइरहेको छ, धेरै अपराधको जगमा लागुऔषध छ ।”
लागुऔषधविरूद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरुरी रहेको भन्दै उहाँले विद्यालय स्तरसम्म महाअभियान पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
“महाअभियानलाई प्रत्येक जिल्ला, पालिका र टोल, विद्यालय तथा क्याम्पससम्म जोड्नुपर्छ । यदि समयमै नियन्त्रण गरेनौँ भने १०–१५ वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्या छु”, उहाँले भन्नुभयो, “जुन ढङ्गले लागुऔषधको ओसारपसार, भण्डारण र प्रयोग भइरहेको छ । त्यसले आगामी १०–१५ वर्षमा भयावह स्थिति ल्याउने अवस्था देखिरहेको छु ।”
“लागुऔषधमुक्त समाज निर्माणका लागि देशव्यापी बनाउन आवश्यक छ र प्रहरीलाई यो महाअभियान देशव्यापी रूपमा लैजान निर्देशन दिन्छु”, गृहमन्त्री लेखकले भन्नुभयो, “यसमा सबै तहका सरकारले पनि सहयोग गर्न आवश्यक छ । यसलाई सबैले अभियानका रूपमा अगाडि बढाउनुपर्छ ।”
सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको उहाँको भनाइ थियो । “एक दिनमा सात जनाको सवारी दुर्घटनामा मृत्यु र १७ जनाले दैनिक आत्महत्या गरिरहेको छ । यसका पछाडि पनि लागुऔषध कारक देखिन्छ”, लेखकले भन्नुभयो, “समाजमा अपराध वृद्धि, अराजकता र बेतिथिका पछाडि लागुऔषध र मादक पदार्थ कारकका रूपमा देखा परेकाले समाजका धेरै अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण गर्न आवश्यक छ ।” लागुऔषध नियन्त्रण गर्न सके धेरै अपराधका घटनामा कमी ल्याउन सकिने मन्त्री लेखकको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्