तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र ‘अञ्जिला’ मा  खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको सङ्घर्ष र सफलता चलचित्र देख्न सकिने बताउनुभएको छ । नयाँ बसपार्कस्थित चलचित्र भवनमा आज ‘अञ्जिला’को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले चलचित्रमा आफ्नो भूमिकाले खेलाडी बन्ने सपना बोकेकालाई प्रेरणा दिने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “सानैदेखि खेलकुदमा लगाव भएकाले मैले सक्नेभन्दा बढी यही क्षेत्रमा काम गरेँ । मेरो निरन्तरता र सङ्घर्षले आज मलाई यहाँसम्म पु¥याएको हो ।” क्याप्टेन सुब्बाले खेलाडी र खेलकुदका विषयलाई समेटेर चलचित्र बनाइएको भन्दै यसले खेल क्षेत्रमा भविष्य खोज्ने अन्यलाई पनि प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । चलचित्रमा उहाँ स्वयंले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ ।

“सुरुमा मलाई असहज पनि भएको थियो । राम्रो निर्माण समूह पाएपछि अभिनय पनि गरेकी छु । मजस्तै सङ्घर्षशील अन्य खेलाडीको कथालाई पनि चलचित्रमा देख्न पाइने छ भन्ने मलाई विश्वास छ”, सुब्बाले भन्नुभयो । उहाँले आफ्नो खेल जीवनमा सफलताको श्रेय धर्म पिता प्रेमकुमार श्रेष्ठलाई दिनुभएको छ । चलचित्रको निर्मातासमेत रहनुभएका सुब्बाका धर्म पिता श्रेष्ठले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेहरूलाई प्रेरणा दिने बताउनुभयो । 

“अञ्जिलाको जीवनले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न प्रेरणा दिन्छ र उहाँको सङ्घर्ष कुनै चलचित्रको पटकथाभन्दा कम छैन”, निर्माता श्रेष्ठले भन्नुभयो । उहाँले चलचित्रमा क्याप्टेन सुब्बासँगै अन्य राष्ट्रिय खेलाडीलाई रहेका जनाउँदै सबैलाई सहयोगका लागि धन्यवाद दिनुभयो । 

निर्देशक मिलन चाम्सले क्याप्टेन सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको जानकारी दिनुभयो । “खेलकुदमा चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म कोसिस गरेका छौँ । क्याप्टेन सुब्बाको जीवनको महत्त्वपूर्ण खेललाई चलचित्रमा समावेश गरेका छौँ । उहाँको जीवनलाई पर्दामा हेर्दा नरसाउने आँखा सायदै होलान्”, उहाँले भन्नुभयो ।

चलचित्रका अभिनेता दयाहाङ राईले नेपाली फुटबलको विषयमा चलचित्र बन्नु सकारात्मक पक्ष रहेकाले आफू कलाकारका रूपमा जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “म फुटबल खेलको प्रशंसक हुँ । क्याप्टेन सुब्बाको जीवनीमा चलचित्र बन्दैछ भन्ने सुनेपछि खुसी भएको थिएँ, मलाई अभिनय गर्ने प्रस्ताव आएपछि आफ्नो भूमिका नसुन्दै सहमति दिएँ । सुब्बासँग चलचित्रभर अधिकांश दृश्य छ, यो मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो ।”

चलचित्रमा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ । सुदीप बरालले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन गर्नुभएको यो चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button