दिग्भ्रमित गर्ने खालका सूचना सम्प्रेषणलाई निरुत्साहित गर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ । समाजलाई दिग्भ्रमित गर्ने खालका सूचना सम्प्रेषणलाई निरुत्साहित गर्दै जानुपर्नेमा विभिन्न सरोकारवालाहरुले जोड दिनुभएको छ ।
काठमाडौँको गुह्येश्वरी परिसरमा धार्मिक साँस्कृतिक पत्रकार समाजको आज कार्यालयको स्थापनाका अवसरमा विभिन्न वक्ताहरूले धर्म संस्कृतिले समाजमा सकारात्मक भावनाको विकास गर्ने भएकाले सञ्चार जगतले त्यस तर्फ जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले धर्म संस्कृतिको प्रवद्र्धनले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुहुँदै यसको प्रवर्द्धनबाट समाजलाई सकारात्मकता तर्फ लैजानेगरी काम सुरु भइसकेको बताउनुभयो ।

मन्त्री पाण्डेले समाजमा भ्रम सिर्जना गर्ने शैली ठिक नभएको र त्यस्ता भ्रमलाई चिर्दै देश र जनताको हितमा धार्मिक साँस्कृतिक पत्रकार समाज लगायत सबैले हातेमालो गरी अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो ।
यस्तै कार्यक्रममा प्राध्यापक डा. माधवप्रसाद पाण्डे, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष उमिद बागचन, काठमाडौँ महानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष आसामान संगत, वासुदेव कृष्ण शास्त्री, बंशदीप शर्मा खरेल, धार्मिक साँस्कृतिक पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्र, महासचिव अच्युत अर्याल लगायतले धर्म संस्कृतिका विषयलाई उजागर गर्दै यसको सम्वद्र्धन र जगेर्ना गरी समाजमा सकारात्मक भावको विकास गर्नु आवश्यक भएको बताउनुभयो ।


तस्बिर : कुमार धिताल
प्रतिक्रिया राख्नुहोस्