सुर्यनगर गोल्डकपको फाइनलमा बाँसबारी काठमाडौं र वीरगंज युनाइटेड भिड्ने
नवलपरासी, पश्चिम।बर्दघाट नगरपालिकाको संरक्षकत्वमा नव युवा क्लब बर्दघाट–१६ सुर्यनगरद्वारा आयोजित नवौं संस्करणको सूर्यनगर गोल्डकप २०८१ को फाइनलमा बाँसबारी क्लब काठमाडौं र वीरगंज युनाइटेड भिड्ने भएका छन्।
सेमिफाइनल चरणको अन्तिम खेलमा वीरगंज युनाइटेडले बागमती युथ क्लब सर्लाहीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। वीरगंजका जर्सी नम्बर ११ अमर डंगोल खेलको म्यान अफ द म्याच घोषित भए।
पहिलो हाफमै वीरगंजले दुई गोल गरेको थियो। दोस्रो हाफमा सर्लाहीले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। खेल अवलोकन गर्न पुगेका दर्शकहरूले राम्रो प्रतिस्पर्धा हेर्ने अवसर पाए।
फाइनल खेल फागुन १६ गते हुनेछ। खेल संयोजक मीन गुरुङका अनुसार विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ३६ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। लुम्बिनी प्रदेश फुटबल संघका महासचिव तथा बर्दघाट–१६ का वडाध्यक्ष भीमकाजी गुरुङका अनुसार यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्