तपाईँ सुन्दै हुनुहुन्छः

जेहेन्दार र विपन्नलाई निःशुल्क पढाउन कोष स्थापना

बागलुङ । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठनपाठन गर्नका लागि कोको स्थापना गरिएको छ । 

गत वर्षको तिहारमा देउसीभैलो खेलेर १ करोड रुपैयाँको कोषको शुभारम्भ गरिएको हो । अहिले कोषमा ७५ लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।

धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा १ करोडको छात्रवृत्ति कोष गत वर्ष शुभारम्भ गरिएको क्याम्पस प्रमुख सहप्राध्यापक डा.आनन्दराज सिलवालले जानकारी दिनुभयो । 

उक्त कोषलाई छिट्टै १ करोड रुपैयाँ पुर्‍याएर क्याम्पसलाई हस्तान्तरण गर्ने तयारी गरिएको र अहिलेसम्म ७५ लाख रुपैयाँ सङ्कलन भइसकेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदिप सागर कँडेलले जानकारी दिनुभयो ।

कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १ सय विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने सभापति कँडेलले जानकारी दिनुभयो । 

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले १ करोड रुपैयाँ ‘धौलागिरी बहुमुखी क्याम्पस छात्रवृत्ति कोष’ निर्माण अभियान अन्तिम चरणमा पुर्याएको हो ।

कोष निर्माणका लागि देउसीभैलोमार्फत् ४५ लाख रुपैयाँ सङ्कलन भएको जानकारी दिँदै उहाँले जिल्ला तथा अन्य जिल्लाका पालिका, पूर्व विद्यार्थी लगायतले पनि कोषका लागि सघाएको उहाँले जानकारी दिनुभयो ।  शिक्षा प्रेमी, समाजसेवी, अग्रजको सम्झनामा समेत कोषलाई २० लाख रुपैयाँ प्राप्त भइसकेको उहाँको भनाई थियो ।

क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य पुरा हुने चरणमा पुगेको उल्लेख गर्दै क्याम्पस प्रमुख सह–प्राध्यापक डा.सुदर्शन सिलवालले आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित विद्यार्थीलाई कोषले सहायता प्रदान गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button