तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा राप्ती खानेपानी आयोजना ९० प्रतिशत सम्पन्न

बाँके । नेपालगन्जमा गुणस्तरीय खानेपानी आपूर्ति गर्ने लक्ष्यसहित निर्माण भइरहेको ‘राप्ती खानेपानी आयोजना’ करिब ९० प्रतिशत सम्पन्न भएको छ ।

तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा स्वीकृत आयोजना सात वर्षदेखि ढिलाइमा परेको थियो । सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र निर्माण कम्पनीहरूको लापरबाहीका कारण काम अघि बढ्न सकेको थिएन ।

आयोजना अन्तर्गत राप्ती नदीदेखि नेपालगन्जसम्म ‘डिआई’ पाइप बिछ्याउने कार्य पूरा भएको नेपाल खानेपानी संस्थान, नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार हाल आयोजनाका लागि आवश्यक १९ कट्ठा जग्गा अधिग्रहण प्रक्रियामा विवाद उत्पन्न भएकाले केही काम रोकिएको छ ।

कुल ३३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको आयोजनामा १६.८ किलोमिटर ‘डिआई’ पाइप बिछ्याउने योजना भए पनि फुलटेक्रादेखि बागेश्वरी पानी ट्याङ्कसम्मको २.९ किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने कार्य स्थगित गरिएको छ ।

राप्तीबाट ल्याइएको पानी कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्याङ्कमार्फत उपभोक्तासम्म पुर्‍याइनेछ । यसका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button