तपाईँ सुन्दै हुनुहुन्छः

विप्लवको नेतृत्वमा जुम्लामा रोपियो एक हजार स्याउका बिरुवा 

जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा दोस्रो पटक जुम्लामा स्याउका बिरुवा रोपिएको छ । जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनमा सुधार ल्याउने मनसायले दोस्रो पटक जुम्ला पुगेका विप्लवको नेतृत्वमा एक हजार स्याउका बिरुवा रोपिएको हो । 

स्याउका बिरुवा रोप्न विप्लव नेतृत्वमा उत्तर कर्णाली ब्युरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालीकोट बाजुरासहितका नेकपा नेता–कार्यकर्ता जुम्ला पुगेर स्याउका बिरुवा रोपेका छन् । 

हिमा गाउँपालिका–७, धाँचुगाउँको धौलापानीमा एक हजार स्याउका बिरुवा रोपिएको छ ।  स्थानीय कृष्णकौरा शाहीको १४ हजार वर्गमिटर क्षेत्रफल रहेको जग्गा २० वर्ष लिजमा लिएर स्याउका बिरुवा रोपिएको छ । 

अघिल्लो वर्ष पनि विप्लवकै नेतृत्वमा हिमा गाउँपालिका–७ हडुल्यामा एक हजार स्याउका बिरुवा रोपिएको थियो । जुम्लाको आर्थिक समृद्धि र किसानको आयस्तर बढाउन विप्लवले कृषि क्रान्तिमा होमिन किसानलाई ऊर्जा दिइरहेका छन् । 

उत्पादन सम्भावनाअनुसारको खेती गरेर उत्पादन बढाउने र आयस्तर उकास्ने खालका उत्पादनमुखी कार्यक्रमका आफ्नो पार्टीले विशेष प्राथमिकता दिएको विप्लवले बताउनुभयो । तराईमा बृहत् धान खेतीदेखि पहाडमा व्यवसायीक स्याउ खेतीको अभियान चलाएको उहाँको भनाई छ ।

‘उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउ रोपेर उत्पादन बढाउने लक्ष्य रहेका छौ । यसले बाझो जग्गाको उपभोग र किसानको आयस्तर बढाउने हाम्रो सोच हो ।’ उहाँले भन्नुभयो, ‘देशभर हामीले नेता–कार्यकर्तालाई उत्पादनमा जोडिरहेका छौ । कृषि क्रान्ति चलिरहेको छ । देशभर डेढ सय बिघा जमिनमा खेती गरिरहेका छौँ । जुम्लामा पनि स्याउ, ओखर खेती गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष पनि एक हजार बिरुवा रोपेका छौँ ।  दोस्रोपटक पनि एक हजार बिरुवा रोपेका छौ । कालिकोटमा पनि बिरुवा रोप्ने छौ ।’  

राजनीति सेवा हो । निस्वार्थ सेवा गर्न र देशको अर्थतन्त्र सुधारका लागि नेता कार्यकर्ता उत्पादनमा जोडिनुको विकल्प छैन । कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीतिअनुसार अघिल्लो वर्ष हिमा गाउँपालिका–७ हडुल्यामा रहेको बाँझो जग्गामा बृहत् स्याउखेती गरिएको पार्टी जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘कृषि उत्पादनले मात्रै देश उँभो लाग्ने भएकाले किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाई आत्मनिर्भर हुने उद्देश्यसहित हिमाली जिल्ला जुम्लामा हावापानी सुहाउँदो स्याउ खेतीको सुरुवात गरिएको हो । 

जुम्लाको सबै पाखोबारीमा स्याउ उत्पादन हुने सम्भावना छ । यही सम्भावनालाई अवसरमा रूपान्तरण गर्न हामीले स्याउ खेतीमा जोड दिएको शाहीको भनाई छ । नेकपा दलित मुक्ति मोर्चा कर्णाली प्रदेश कोषाध्यक्ष मंगला विकले व्यक्तिगत रूपमा एक सय स्याउका बिरुवा सहयोग गरेकी छिन्। उनले अघिल्लो वर्ष पनि नेकपाको स्याउ रोप्ने कार्यक्रममा यस्तै स्याउका बिरुवा सहयोग गरेकी थिइन् । 

उहाँले भन्नुभयो,‘हरेक नागरिक होस् राजनीतिज्ञ होस् उत्पादनमा जोडिनुपर्दछ । त्यसकारण पनि यो उत्पादनसँग जोडिने कार्यक्रम निकै उत्तम छ । यस्ता कार्यक्रम  तीनै तहका सरकारले सञ्चालन गर्नुपर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button