भिरालो जमिनमा बजार विस्तार
मुगु । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीमा बजार विस्तार तीव्र गतिमा अगाडि बढिरहेको छ। भिरालो भू-भागका कारण सीमित क्षेत्रमै खुम्चिएको गमगढी बजार पछिल्ला वर्षहरूमा नयाँ संरचना निर्माणसहित फैलँदै गएको छ।

बजार क्षेत्र साँघुरो हुँदै जाँदा स्थानीय व्यापारी र बासिन्दाले नयाँ क्षेत्रतर्फ घर तथा पसल सार्न थालेका छन्। विशेष गरी गमगढी आसपासका कहिले बाडा, फाईम, न्युरोड, स्याउली बजार, बाघ बजार , बसपार्क लगायतका क्षेत्रहरूमा नयाँ भवन तथा व्यापारिक संरचना थपिने क्रम जारी छ।
स्थानीय व्यवसायीहरूका अनुसार पुरानो बजार क्षेत्रमा ठाउँ अभाव भएपछि नयाँ निर्माण कार्यलाई प्राथमिकता दिइएको हो। “हामीलाई व्यापार बिस्तारका लागि थप ठाउँको आवश्यकता थियो, त्यसैले नयाँ ठाउँ खोजेर बजार विस्तार गर्दैछौं,” स्थानीय सफल व्यापारी सहकारी कर्मी हरी बहादुर शाहीले बताएका छन् ।
छायाँनाथारा नगरपालिका तथा सम्बन्धित निकायहरूले पनि बजार व्यवस्थापनलाई आधुनिक बनाउन आवश्यक योजना अघि बढाइरहेका छन् । तर, भौगोलिक कठिनाइ र उचित योजना अभावका कारण बजार विस्तार चुनौतीपूर्ण देखिएको स्थानीय सरोकारवालाहरू बताउँछन्।

बजार विस्तारसँगै यातायात, विद्युत्, खानेपानी तथा सरसफाइ व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइएको छ । यदि समुचित योजना का साथ गमगढी देखि उत्तरी नाका चिन जोड्ने नाक्चे लाग्ना सडक समयमा निर्माण कार्य सम्पन्न हुन सके गमगढी बजारको विकासले मुगु जिल्लाको समग्र आर्थिक प्रगतिको ढोका खोल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्