बुटवलमा सर्वाधिक राशिको राष्ट्रिय स्नुकर प्रतियोगिता सुरु
रुपन्देही । बुटवलमा देशभरमै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय स्नुकर प्रतियोगिता शुरु भएको छ । नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एसोसिएसन रुपन्देहीको आयोजनामा भएको यो प्रतियोगितामा देशका प्रमुख सहरबाट १२८ जना खेलाडीले सहभागिता जनाएका छन् ।

फागुन २१ गतेसम्म चल्ने स्नुकर च्याम्पियनसिपको उद्घाटन बुटवलका मेयर खेलराज पाण्डेले गर्नुभएको थियो । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगितामा रुपन्देही, काठमाडौँ, पोखरा, धरान, ललितपुर, भक्तपुर, नारायणगढ, हेटौँडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवा लगायतमा देशका प्रमुख शहर र जिल्लाबाट खेलाडी सहभागी भएको नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एसोसिएसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताउनुभयो ।
प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार र हाइएस्ट ब्रेकरले ५५ हजार नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले जानकारी दिनुभयो । सेमिफाइनलमा पुग्ने खेलाडीहरूलाई नगद ३०–३० हजार रुपैयाँ, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताउनुभयो ।
स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने खेलाडीको भनाइ छ।
नेपालमा स्नुकर खेलको बढ्दो लोकप्रियताले युवाहरूलाई आकर्षित गराउँदै आएको छ। खेलमा लगानी बढाउन सकिएमा यस्ता प्रतियोगिताहरूले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता हासिल गर्न मद्दत गर्ने अपेक्षा राखेको खेलाडीहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्