तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

काठमाडौँ । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । 

काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरिएको हो । 

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहको हलमा उक्त पुस्तक लोकार्पण गरिएको हो । पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रीहरू एवं उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकाली ओराली तथा नेकपा (एमाले)का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरूबारे उल्लेख छ ।

“न म साहित्यकार, न लेखिका हुँ । त्यही पनि मनमा लागेका आफ्ना विचारहरू कहिलेकाहीँ लेख्ने गर्थे । त्यही सङ्ग्रहलाई आज पुस्तकका रुपमा ल्याएको छु”, शाक्यले भन्नुभयो, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँग को विवाह पनि त्यही करुणाले गरे ।”

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबिच २०४४ साल आजकै दिन विवाह भएको थियो । त्यस अवसरमा पाणिनी बुक्स प्रालिद्वारा अभिनन्दन पत्र समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button