अधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री थापा
सल्यान । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको अधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको छ ।

शनिबार सल्यानमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउने क्रममा सल्ली बजारमा आयोजित स्वागत कार्यक्रममा काँग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
सबै दलसँग सहकार्य गरेर अघि बढ्ने कांग्रेसको योजनामा रहेको बताउँदै थापाले कांग्रेस सबै दलहरूसँग मित्रता कायम गर्दै पार्टी विरुद्ध फैलिएका भ्रम चिर्न केन्द्रित हुने बताउनुभयो ।
महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा देशलाई तीव्र विकासको दिशामा लैजाने योजना रहेको बताउनुभयो । ‘हामी बेरोजगारी घटाउन चाहन्छौँ, शिक्षा र स्वास्थ्य सुधार गर्न चाहन्छौँ, आम नागरिकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित अघि बढिरहेका छौँ’ उहाँले भन्नुभयो ।
देशभर रोकिएको विकासलाई पुनः गतिमा लैजानुपर्ने र त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर आवश्यक स्रोत जुटाउनेतर्फ लागिपर्ने थापाको भनाई छ । अहिले काँग्रेसले कसैलाई दोष दिने ठाउँ छैन आफैले गर्नुपर्ने समेत बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्