तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तिव्र

बाँके।फागुन १९ गतेदेखि नेपालगञ्ज रंगशालामा सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी द्रुतगतिको साथ अघि बढिरहेको छ। प्रतियोगिताको उद्घाटनमा करीब १० दिन मात्र बाँकी रहेको अवस्थामा आयोजक संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले तयारी कार्यलाई प्राथमिकतामा राख्दै छिटो गरिरहेको जानकारी दिए।

उनका अनुसार, यसअघि भएका प्रतियोगिताका कारण धुलोम्याएको फुटबल ग्राउण्डमा अहिले पानी चहार्ने कार्य भइरहेको छ। शाहले भने, “ग्राउण्डमा अहिले सबै किसिमका खेल र अभ्यासका कार्यक्रम रोकिएका छन्।”

नेपालगञ्ज रंगशालामा पनि मर्मत र सुधारका काम तीव्र गतिमा अघि बढिरहेका छन्। प्याराफिटको मर्मतसम्भार, रंगरोगन, विद्युतिकरणको सुधार र सरसफाई कार्यमा पनि तीव्रता ल्याइएको छ।

लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता हुने जनाइएको छ। प्रतियोगिताको लोगो सार्वजनिक भइसकेको छ र व्यवस्थापनका लागि विभिन्न उपसमितिहरूले पनि काममा तीव्रता दिएका छन्।

प्रतियोगिता नजिकिँदै गर्दा केन्द्रदेखि जिल्लासम्मका विशिष्ट व्यक्तिहरूले यसको तयारीमा चासो देखाएका छन्। संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज, बाँके क्षेत्र नं. ३ का संघीय सांसद किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूना, सांसद दीपा शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व प्रवक्ता मोहना अन्सारी लगायतका विशिष्ट व्यक्तिहरूले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्।

यस्तै, नेपाली कांग्रेस, बाँकेका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतले पनि प्रतियोगिता तयारीको स्थलगत अवलोकन गरेका छन्।

प्रतियोगिता सफल बनाउन विभिन्न संघ र संगठनहरूसँग समन्वयात्मक बैठकहरू पनि भइरहेको छ। गैरसरकारी संस्था महासंघ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, फातिमा फाउण्डेशन, बहुमुखी सेवा केन्द्र लगायतका संघ, संस्थाहरूसँग छलफल गरी सहकार्यका बारेमा पनि विचारविमर्श भएको जानकारी मिडिया संयोजक नीरज गौतमले दिएका छन्।

यसरी, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सफल बनाउन विभिन्न पक्षबाट व्यापक तयारी भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button