काठमाडौँ शिक्षालय ललितपुरले भव्यताका साथ मनायो आफ्नो २०औँ वार्षिकोत्सव

काठमाडौँ । काठमाडौँ शिक्षालय ललितपुरले आफ्नो २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएर सम्पन्न गरेको छ । महालक्ष्मी नगरपालिका ४, इमाडोलमा रहेको शिक्षालयले गत फागुन ७ गते बुधबार आफ्नै भवन प्राङ्गणमा भव्य समारोह आयोजना गर्दै कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ललितपुर क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य माननीय प्रेम महर्जनको प्रमुख आतिथ्यता तथा शिक्षालयका अध्यक्ष पर्वतारोही प्रकाश राज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रजातन्त्र दिवसको विशेष दिनमा आयोजना गरिएको उक्त कार्यक्रममा वडाध्यक्ष अमृत खत्री, वडा सदस्यहरूका साथै स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यार्थीका अभिभावक सहित शिक्षक एवं विद्यार्थी भाइबहिनीहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सोही कार्यक्रममा शिक्षालयका अध्यक्ष एवं पर्वतारोही पाण्डेलाई हिमाल आरोहणका लागि शिक्षालयले विशेष सम्मान प्रदान गरेको थियो । पाण्डेले यसै फेब्रुअरी महिनामा सेभेन समिट विशेष अभियान अन्तर्गत दक्षिण अमेरिकी महादेशको उच्च हिमशिखर अकोन्कागुआको सफल गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि महर्जनले यस शिक्षालयले ललितपुरमा शैक्षिक विकासमा उत्कृष्ट कार्य गरिरहेकोमा प्रसन्नता व्यक्त गर्दै शिक्षालयले गुणस्तरीय शिक्षाका अतिरिक्त खेल एवं अन्य सह शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेकोले यस शिक्षालयले देश विकासमा योगदान दिनसक्ने व्यक्तित्वहरू तयार गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो । शिक्षालयका अध्यक्ष नै पर्वतारोहणमा संलग्न भएका अदम्य साहसका धनी एवं उच्च विचार राख्ने व्यक्तित्व भएको हुँदा शिक्षालयको विकास सँगसँगै शिक्षालयका बालबालिकाहरूको सर्वाङ्गीण विकास पनि भइरहेको विश्वास व्यक्त गर्नुभयो ।

मन्तव्य राख्दै महालक्ष्मी नगर वडा नं. ४ का वडाध्यक्ष अमृत खत्रीले वडाको विकासका कार्यसँगै आफ्नो वडामा शिक्षा क्षेत्र पनि आफूले नजिकबाट नियालिरहेको बताउँदै यो शिक्षालयले महालक्ष्मी नगरमा उत्कृष्ट विद्यालयको रुपमा गुणस्तरीय शिक्षा दिइरहेको र वडाका विद्यार्थी एवं अभिभावकहरू लाभान्वित भइरहेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । साथै, अभिभावकले पनि आफ्ना बालबालिकाहरूको शिक्षामा चासो राखी विद्यालयसँग सहकार्य गर्न सुझाव पनि दिनुभयो ।
शिक्षालयका अध्यक्ष पाण्डेले शिक्षालय महालक्ष्मी नगरमा उत्कृष्ट भएकोमा गौरव गर्दै भविष्यमा थप लगानी बढाउँदै सबैतिर सर्वोत्कृष्ट हुने दिशामा अघि बढिरहेको बताउनुभयो । पर्वतारोहणमा समेत सक्रिय रहेका पाण्डेले अभिभावकहरूलाई पनि विद्यार्थीहरूमा लगानी गर्न विशेष अनुरोध गर्दै विद्यार्थीहरूको विकासका लागि शिक्षालयको प्रयास मात्रै पर्याप्त नहुने भएकोले अभिभावकले आफ्ना बालबालिकाहरूको खानपिन र सिकाईको अवस्थामा ध्यान दिन अनुरोध गर्नुभयो ।

समारोहमा विद्यालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘शिक्षा समाज परिवर्तनको संवाहक हो भने अतिरिक्त क्रियाकलाप व्यक्तित्व विकासको सोपान हो’ भन्ने मूल मान्यतामा आधारित रही शिक्षालय सञ्चालनमा रहेको बताउनुहुँदै अभिभावक दिवसको उपलक्ष्यमा विद्यार्थी, अभिभावक र सरोकारवाला सबैसँग साक्षात्कार गर्ने यो अवसर सम्वद्ध सबैका लागि विशेष रहेको विचार व्यक्त गर्नुभयो।
शिक्षालयका शिक्षिका एलिसा राईले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक गोपाल महासेठले धन्यवाद मन्तव्य दिनुभएको थियो ।
२०६१ सालमा स्थापना भएको शिक्षालयले ललितपुरको मध्य भेगमै गुणस्तरीय शिक्षा प्रदान गर्दै विभिन्न अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गरी विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्दै आइरहेको छ ।





















प्रतिक्रिया राख्नुहोस्