तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा माघ महिनामै १६ ठाउँमा आगलागी 

गुल्मी । गुल्मी जिल्लामा सुख्खा सिजन सुरुभएसँगै आगलागीका घटनाहरू तीव्र रुपमा बढ्ने गर्दछन् । गाउँमा बस्ती रित्तिँदै गएको र झाडी बढ्दै जाँदा आगलागीका घटनाहरू दैनिक जसो बढ्ने गर्दछन् ।

गर्मी र सुख्खा मौसम शुरु भएसँगै दैनिक जसो आगलागीका घटनाहरू बढ्दै जाने गर्दछन् । आगलागीबाट गुल्मी जिल्लामा पनि वर्षेनी आगलागीबाट करोडौँ मूल्यको जन धनको क्षति हुने गरेको छ । जिल्लामा माघ महिनामा विभिन्न १६ ठाउँमा आगलागी भएको प्रहरीले जनाएको छ । एक महिनाको अवधिमा उक्त ठाउँका सामुदायिक वनमा आगलागी भएको थियो ।

आगलागीबाट एउटा घर, ३ वटा गोठ जगेको तथ्याङ्क रहेको छ । त्यस क्रममा २ वटा पशु चौपाया जलेर नष्ट भएका छन् भने ४ वटा घाइते अवस्थामा रहेका छन् । आगलागीमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न स्थानका १६ ठाउँमा लागेको आगो नियन्त्रण गर्न ५१ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । 

गर्मी सुरु नहुँदै यति धेरै ठाउँमा आगलागी हुनु यसवर्षको सुख्खा सिजनका लागि ठूलो चुनौतीको विषय बन्ने देखिन्छ । जिल्लामा अघिल्लो वर्ष गुल्मीका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको थियो । आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको थियो । अघिल्लो वर्ष जिल्लामा ६१ वटा घर र ७९ वटा गोठ जलेर करोडौँको क्षति भएको थियो । 

आगलागीबाट सम्भावित क्षति कम गर्न जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न रणनीतिहरू अपनाउने कार्ययोजना अगाडी सारेको छ । आगो नियन्त्रण सम्बन्धी कार्य योजना बनाएर अगाडी बढ्ने गरि विभिन्न खालका रणनीतिहरू तयार गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । 

सुरक्षाकर्मीलाई अग्नि नियन्त्रणका सामाग्री तयारी अवस्थामा राख्ने काम र अपुग सामाग्री मागका लागि विभिन्न कार्यालयसँग समन्वय पनि भइरहेको गौतमले बताए । आगो लागिका लागि जोखिम नियन्त्रण र आगोलागि भइहालेको खण्डमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर त्यस बारेमा पनि योजनाहरू बनाइएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

आगलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्र्याइँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । लागो लागेपछि धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्ने गर्दछ ।जिल्लामा अघिल्लो वर्षका अग्नी पीडितका लागि आवास निर्माण लागि पाउनुपर्ने रकम समेत पाएका छैनन् । आवास निर्माण भएपनि सरकारबाट रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button