‘अर्थतन्त्र बलियो भए लोकतन्त्र पनि बलियो हुन्छ’
चितवन । अर्थतन्त्र बलियो भए लोकतन्त्र पनि बलियो हुने विज्ञहरुले बताएका छन् ।

एफइएस (फेड्रिक इवर्ट इस्टिफटङ्ग) संस्थाले भरतपुरमा आयोजना गरेको लोकतन्त्रको आर्थिक विकासको माध्यमबाट लोकतन्त्रको सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा लोकतन्त्रका लागि अर्थ र राजनीतिबिचको सम्बन्धलाई समन्वयात्मक रुपमा अगाडि बढाउन विज्ञले सुझाव दिएका हुन् ।
प्रस्तुतीकरण दिँदै योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोख्रेलले नेपालले आर्थिक विकासमा हिसाबले आंशिक प्रगति गरेपनि सन्तोष मान्ने स्थिति अझै नरहेको बताउनुभयो । उहाँले कानुन र योजना बनाउँदा विकासलाई ध्यान दिएर बनाउनुपर्ने बताउनु भयो । ‘नेपालमा एक करोड कमाउनेले ३९ लाख कर तिर्नुपर्छ । भारतमा ३० लाख तिरे पुग्छ’, नेपालको कर प्रणालीको अवस्थालाई चित्रण गर्दै डा.पोख्रेलले भन्नुभयो ‘धेरै कर तिर्नुपर्ने भएपछि मानिसहरू बस्न मान्दैनन् ।’
एफइएस नेपालका चन्द्र बहादुर भट्टले नेपालको अर्थतन्त्र र लोकतन्त्रमा समस्या बढ्दै गएको बताउनुु भयो । ‘अर्थतन्त्र जति कमजोर हुन्छ । लोकतन्त्र त्यति नै कमजोर हुन्छ,’ उनले भने ‘त्यसैले लोकतन्त्र बलियो बनाउन पनि अर्थतन्त्र बलियो हुनुपर्छ ।’
कृषि विज्ञान विभागकी सहायक प्राध्यापक डा रमा पौडेलले राजनीतिक दलले दिगो विकासका लागि योजना बनाएर काम गर्नुपर्ने बताउनु भयो । कृषिबाट नेपालको आर्थिक विकास सम्भव रहेको बताउँदै उहाँले राज्यले कृषिमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका प्रोफेसर विनय मिश्रले प्रदेश र केन्द्रको अधिकार पनि स्थानीय तहमा दिनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका पूर्वसांसद कृष्णप्रसाद भुर्तेलले विभिन्न कानुनका कारण विकास निर्माणमा समस्या भएको भन्दै उनले विकास हुने गरी कानुन बनाउन सरकार लाग्नुपर्ने सुझाव दिनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका सदस्य इमान्दु बरालले उद्योग खोल्ने व्यक्तिलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्राध्यापक शारदा खनाल, व्यवसायी आनन्द राउत, तेजेन्द्रप्रसाद भुसाल, रविभद्र शर्मा खनाल लगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्