प्रतिनिधि सभाबाट विद्युतीय व्यापार इ–कमर्श विधेयक, २०८० पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विद्युतीय व्यापार इ–कमर्श विधेयक २०८० पारित भएको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्नुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको विद्युतीय व्यापार इ–कमर्श विधेयक २०८० सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले विधेयकले उद्योग व्यवसाय तथा व्यापारको क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने, नवउद्यमीलाई प्रोत्साहित गर्ने र थप रोजगारीका अवसरहरू सिर्जना गर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले प्रविधिमा आधारित कारोबारलाई सहज बनाउन र अनलाइन ठगी एवं अनियमितता नियन्त्रण गर्न समेत विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्युतीय व्यापार इ–कमर्श विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको थियो ।
यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षामन्त्री मानवीर राईले महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
यस्तै प्रतिनिधि सभाको आजको बैठकमा ऊर्जा, जल स्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले भारत सरकारसँग सम्झौता भए अनुसार विभिन्न आठवटा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण कार्य अगाडि बढेको सदनलाई जनाकारी गराउनुभयो ।
बैठकमा उठेका प्रश्न प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा मन्त्री खड्काले दोधारा, लम्की, बरेली, ढल्केबर, सितामडी लगायत विभिन्न आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेगरी भारत सरकारसँग सम्झौता भएअनुसार काम अगाडि बढेको बताउनुभयो ।
मन्त्री खड्काले लामो समयदेखि अड्किएर रहेका अधुरा आयोजनाहरू सुचारु गर्न सरकारको ध्यान केन्द्रित भएको र राष्ट्रिय आयमा वृद्धि गरी आन्तरिक रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि समेत जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनाका सम्बन्धमा उच्चस्तरीय कूटनीतिक संवाद सहित सत्यतथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले प्रकृति लम्सालको मृत्युपछि विरोधमा उत्रिएका नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार सह्य नहुने भन्दै घटनाको मृतक विद्यार्थीको न्यायका लागि सरकारले पहल गनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले सडक दुर्घटना न्यूनीकरण गर्न सडकको स्तरोन्नति गरिनुपर्ने, सवारी साधनको अवस्था चेकजाँच गरिनुपर्ने र सवारी साधन अनुमतिपत्रको समेत चेकजाँच गरिनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन ११ गते आइतबार दिनको १ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्