नियमनका नाममा अङ्कुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य नहुने: नेता कोइराला

काठमाडौँ । सामाजिक सञ्जाल नियमनका नाममा अङ्कुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य नहुने नेपाली काँग्रेसका नेताहरूले बताउनुभएको छ ।
नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि अभिव्यक्ति स्वतन्त्रतामा आघात पुग्ने कुनै पनि कानुन स्वीकार गर्न नसकिने बताउनुभयो ।

नेता डा. कोइरालाले संसदमा पेश गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सरोकारवालासँग छलफल गरी पुनः ल्याउन समेत आग्रह गर्नुभयो ।
सुशासनका लागि दुई ठूला पार्टी सरकारमा गएको र त्यसमा सरकार चुक्न नहुने भन्दै चित्त नबुझ्ने विषयमा सरकारलाई खबरदारी गरेर अगाडी बढ्ने पनि नेता डा. कोइरालाले बताउनुभयो ।
यस्तै नेपाली काँग्रेसका अर्का नेता एन पी साउदले नियमनका नाममा अङ्कुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य नहुने भन्दै प्रेस स्वतन्त्रतामाथि आँच आउने कदम विरुद्ध आफूहरू उभिने बताउनुभयो ।
नेता साउदले जनताका मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व प्रेसको भएकाले समाजलाई मर्यादित बनाउन प्रेस पनि मर्यादित र उत्तरदायी हुन जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकारहरू हरिहर विरही, तारानाथ दाहाललगायतले अभिव्यक्ति स्वतन्त्रतामा हनन् हुनेगरी गरिएका कुनै पनि कार्य विरुद्ध प्रेस जगत एक भएर उभिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको हक, हित र संरक्षणमा सधैँ उभिने बताउँदै अभिव्यक्ति स्वतन्त्रतामा ठेस पुग्ने गरी चालिएका कदम विरुद्ध नेपाल प्रेस युनियनले आवाज उठाउँदै आएको बताउनुभयो ।
नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन भोलीसम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्