भद्रपुर झापा गोल्ड कप दोस्रो संस्करणको तयारी पूरा
झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा गोल्डकपले आज खेल मैदान मेची रङ्गशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

यही फागुन ७ गतेदेखि हुने गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन शानदार मैदान बनाइएको छ । करिब २० हजार दर्शक बस्न मिल्ने गरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताको तयारी स्वरूप स्वागत गेटहरू निर्माण गरिएको छ ।
यो संस्करणको प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपीएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् भने गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भूटान, काउर्न बाजार प्रगति संघ बङ्गलादेश सहभागी हुनेछन् ।
फागुन १६ गते हुने गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् भने सौर्य एयर तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर मुख्य प्रायोजकको रुपमा रहेको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, गोल्डकपका मुख्य सल्लाहकार टिकाराज ढकाल, अध्यक्ष दिपेश ढकाल र महासचिव जीवनकुमार श्रेष्ठले पत्रकारहरूको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्