देवघाट महामहोत्सवबाट २७ करोड ४५ लाख ५७ हजार सङ्कलन, २ करोड ९९ लाख खर्च

चितवन । गत माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा आयोजना गरिएको देवघाट महा–महोत्सवमा २७ करोड ४५ लाख ५७ हजार ९८० रुपैयाँ आर्थिक सङ्कलन भएको छ भने २ करोड ९९ लाख १७ हजार ५ सय रुपैयाँ खर्च भएको छ । महा–महोत्सवको तर्फबाट सोमबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा महा–महोत्सवमा उक्त रकम सङ्कलन भएको जानकारी गराइएको छ ।
महा–महोत्सवमा देवघाट दिव्यधाम शिलान्यास कार्यको लागि ८ करोड १७ लाख ५३ हजार ८५१, साधारण दान ५ करोड ८४ लाख ७८ हजार ८८६, आश्रम तथा मन्दिरको लागि भुमिदान शुल्क स्वरूप ४ करोड २८ लाख ८९७, जलदान तथा अन्नदान स्वरूप १ करोड ४६ लाख ७ हजार ७९३, मन्दिर निर्माण तथा एकहात निर्माण स्वरूप ३ करोड ८७ लाख ७२ हजार ९५०, आश्रमको आजीवन सदस्यता मार्फत १ करोड ५३ लाख ३ हजार ४० र कोठा निर्माण स्वरूप ६८ लाख १ हजार ५५५ रुपैयाँ सङ्कलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त रकम मध्ये २३ करोड २६ लाख ३० हजार १४७ रुपैयाँ नगद र क्युआरकोड मार्फत ८१ लख ७३ हजार २९९ रुपैयाँ क्युआरकोर्ड मार्फत सङ्कलन भएको पत्रकार सम्मेलनमा महा–महोत्सवका सल्लाहाकार श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिनुभयो ।
वास्तविक खर्च २ करोड ९९ लाख १७ हजार ५८२ रुपैयाँ भएको महा–महोत्सवका सल्लाहाकार श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिए । खर्च रकम मध्ये सबैभन्दा धेरै आवासको लागि सिरक डसना तथा अन्य आवास खर्चको लागि १ करोड ६८ लाख ३८२ रुपैयाँ भएको छ । त्यस्तै महा–महोत्सवमा कथा वाचन गर्ने वाचकहरूको लागि २२ लाख ८९ हजार ५ सय रुपैयाँ खर्च भएको छ । भारतबाट भएकी लोकप्रिय कथा वाचिका देवी प्रतिभाको टोलीलाई २० लाख भन्दा बढी भुक्तानी गरिएको बताइएको छ ।
महा–महोत्सवमा रसिद मार्फत, भुमिदान स्वरूप, अन्नदान स्वरूप, आजीवन सदस्यता मार्फत, कोठा निर्माण बापत, क्युआर कोड मार्फत तथा दान पेटिकामा सङ्कलित रकम सबै गरि २७ करोड रकम सङ्कलन भएको महा–महोत्सवका सङ्कल्पकर्ता इश्वरकृष्ण महाराजले बताए । विभिन्न चार्टड एकाउन्टेन्ट मार्फत गरिएको हिसाब किताब रुजु गरि आम्दानी खर्च सार्वजनिक गरिएको महा–महोत्सवका सङ्कल्पकर्ता एवं विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष इश्वरकृष्ण महाराजले बताउनुभयो ।
सङ्कलित रकमले देवघाट गाउँपालिका–५ तनहुँमा निर्माणाधीन ३६५ कोठाको मातापिता सेवा श्रमको पूर्णता र देवघाट दिव्यधाम निर्माणमा खर्च गरिने महा–महोत्सवका संयोजक डा. केशव भुर्तेलले बताए । उनले उक्त रकम पारदर्शी रुपमा खर्च गरिने भन्दै महा–महोत्सवमा सङ्कलित रकमको एक पैसा पनि दुरुपयोग नहुने दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्