गोरखाको उत्तरी क्षेत्रमा तीन दिनदेखि भारी हिमपात, लार्केपासका पर्यटक रोकिए
गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका क्षेत्रमा विगत तीन दिनदेखि भारी हिमपात भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, विही, चुम्चेत, छेकम्पबार र आसपासका क्षेत्रमा हिमपात भएको हो ।

चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नम्बर २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात परेको साम्दोबाट निमा लामाले बताउनुभयो । हिमपातका कारण स्थानीयबासीलाई घरबाहिर निस्कन समस्या भएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका छन् । यो हिमपात आफूले थाहा पाएदेखि अहिलेसम्मकै धेरै समय र बाक्लो भएको लामाले बताउनुभयो ।
हिमपातले लार्केपासको पदमार्ग पुरै ढाकेको छ । हिमपातसँगै किसानहरु भने खुशि भएका छन् । खेतीबाली राम्रो हुने भन्दै उनीहरू खुशी भएका हुन् । हिमपात नहुने हो की भनेर किसानहरु चिन्तित थिए ढिलो भएपनि हिमपात भयो अर्का स्थानीय मिङ्मार लामाले भन्नुभयो ।

हिमपातका कारण मानिसहरू घर बाहिर निस्कने अवस्था भने रहेको छ । पर्यटक लिएर लार्केपास पुगेका तेन्जी लामाका अनुसार बाक्लो हिमपात भएपछि सामागाउँमा रोकिएको बताउनुभयो । आइतबार दिउँसो केही कम भएपनि सोमबार बिहानदेखि बाक्लो हिमपात भइरहेको लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्