स्वास्थ्यमन्त्री पौडेल आज नेपालगन्ज आउनुहुँदै
बाँके । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज नेपालगन्ज आउन लाग्नु भएको छ । हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको शुभारम्भ गर्न मन्त्री पौडेल नेपालगन्ज आउन लाग्नु भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य जानकारी दिनु भयो ।
नेपालगन्ज उपमहानगरपालिकामा आजबाट र डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा ७ गतेबाट औषधि खुवाउने कार्यक्रम चल्दैछ । यहाँका केही समुदायका नागरिकहरूले औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनु पर्ने यो अभियान १४ वर्षदेखि जारी छ । जसका कारण हात्तीपाइले रोग निवारणमै चुनौती थपिएको छ । औषधि खानेले खाइरहने र नखानेले नखाइदिने गरेका कारण अभियान प्रभावकारी हुन सकिरहेको छैन ।
औषधिप्रतिको गलत बुझाइ र भ्रमका कारण हात्तीपाइले रोग निवारण चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य मन्त्री पौडेलकै उपस्थितिमा यो अभियान प्रभावकारी ढङ्गबाट अगाडि बढोस् भन्ने उद्देश्यका साथ आज मन्त्रीलाई बोलाइएको कार्यालय प्रमुख शाहीले बताउनु भयो । फोकलपर्सन दुर्गा गौतमका अनुसार आमऔषधि सेवन कार्यक्रमलाई फलदायी बनाउन समुदायस्तरमा सचेतनाका कार्यक्रमहरूलाई प्रभावकारी बनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्