सौराहा फुड फेस्टिभलमा ३ करोडको कारोबार
चितवन । माघ २९ देखि फागुन ३ गतेसम्म सौराहा फुड फेस्टिभलमा तीन करोड बराबरको कारोबार भएको छ ।
प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान सौराहाले फेस्टिभल आयोजना गरिएको फुड फेस्टिभलमा ३० वटा खानाका स्टल रहेका थिए ।

सौराहा सहित चितवनमा पर्यटक भित्र्याउन आयोजना गरिएको फेस्टिभल अवधिभर अपेक्षाकृत स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । पर्यटक आकर्षित गर्न फेष्टिबलमा सांस्कृतिक कार्यक्रम, खेलकुद तथा रचनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
खेलकुदको माध्यमबाट पर्यटक प्रवर्द्धन गर्न आयोजना गरिएको प्रथम रेवान कप महिला फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरले जितेको छ ।
रत्नप्रिय क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अभिषेक चर्चले उपाधि जितेको हो । त्यसैगरी ब्याडमिन्टन प्रतियोगिता, वेटर रेस, महिलाहरूको बीचमा म्युजिकल चियर र बालबालिका बीचमा गरिएको बेलुन फुटाई प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण गरिएको फेस्टिभलका संयोजक शम्भुप्रसाद मालीले जानकारी दिनुभयो ।
अन्य दिन प्रवेश निःशुल्क गरिएको भए पनि फागुन २ र ३ गते शुल्क लिइएको थियो । टिकट विक्रीबाट भएको आम्दानीबाट विपन्नको शिक्षा र स्वास्थ्य तथा सौराहाको सौन्दर्यीकरणमा लगानी गर्ने रेवानका महासचिव नवीन नेपालले बताउनुभयो ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल सङ्घ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेको सहसंयोजक कृष्ण भट्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्