तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रियसभाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीको अभिव्यक्तिप्रति सभाको ध्यानाकर्षण भएको र सभाबाट पारित भएको विधेयकका सम्बन्धमा यथार्थ नबुझी व्यक्त कपोलकल्पित अभिव्यक्तिप्रति सभाले खेद प्रकट गरेको घोषणा गर्नुभयो । 

यस्तै, बैठकले सांसद शाहीलाई आगामी दिनमा आफ्ना विचार र अभिव्यक्ति दिँदा सुझबुझ पूर्ण, बस्तुनिष्ठ र तथ्यपरक हुन समेत निर्देशन दिएको छ । 

प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित भएपछि त्यसमा असन्तुष्टि जनाउँदै राष्ट्रियसभाको औचित्य र सभाका सदस्यहरूको क्षमतामाथि प्रश्न उठाउनुभएको थियो । 

बैठकको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरुले सांसद शाहीको अभिव्यक्तिले राष्ट्रियसभाको मानमर्दन गरेको भनी खेद प्रस्ताव पारित गर्न माग गर्नुभएको थियो । 

यस्तै, राष्ट्रियसभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पारित गरेको हो ।

यस्तै, बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

विधेयकबारे सांसदहरूका प्रश्नको जवाफमा शिक्षा मन्त्री भट्टराईले अनुसन्धानको क्षेत्रलाई व्यवस्थित र वैज्ञानिक बनाई अपराध अनुसन्धान र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन विधेयक आवश्यक रहेको बताउनुभयो ।

यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१ पेश गर्नुभयो ।

यस्तै, बैठकमा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० र बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० टेबुल भएको छ । 

दुवै विधेयकहरू राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएकोमा प्रतिनिधिसभामा संशोधन भई पुनः राष्ट्रियसभामा सन्देशसहित पठाइएको हो । 

यसअघि बैठकको शुन्य समय र विशेष समयमा बोल्ने सांसदहरुले सुशासन प्रवद्र्धन, महँगी नियन्त्रण र किसानका समस्या समाधानका लागि प्रभाकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सांसदहरुले मुलुक निरन्तर रुपमा अति भ्रष्टाचार हुने देशको सूचीमा परिरहनुको कारण खोजी गरी नियन्त्रणका उपायहरू खोज्न, तरकारीमा हानिकारक विषादीको प्रयोग नियन्त्रणका लागि उचित कदम चाल्न, कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि व्यावसायिक जडीबुटी खेतीको प्रवद्र्धन गर्ने तथा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै, सांसदहरुले माघ २६ गते सल्यानमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा भएको आगलागीबाट पुगेको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न, जातीय विभेद र सामाजिक न्याय विरुद्धका घटनाहरू नियन्त्रण गर्न उचित कदम चाल्न तथा १० आँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सम्बन्धमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक फागुन ६ गते मङ्गलवार बिहान ११ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button