रुकुम पूर्वमा १९ दिनका लागि मध्यपहाडी सडकखण्ड बन्द हुँदै
रुकुम पूर्व । रुकुम पूर्वको प्रमुख यातायात मार्ग मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) को रानिकोट–किटनी खण्डमा १९ दिनका लागि बन्द हुने भएको छ । बाँकी निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले कार्तिक १२ गतेदेखि कार्तिक ३० गतेसम्म सो खण्डमा आवागमन बन्द हुने भएको हो ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा बसेको बैठकले राजमार्गको निर्माण कार्य सहज र छिटो सम्पन्न गर्न सो अवधिभित्र यातायात आवतजावत रोक्ने निर्णय गरेको हो ।
बैठकमा पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट र किटनीबीचको सडकखण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल आवागमन रोक्नुपर्ने बताउनुभएको थियो ।
निर्णयअनुसार ठूला सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा कैचिमोड–धाउन्ने, पोखरा–छिन्खेत सडक प्रयोग गर्न सकिनेछ भने साना सवारी साधनहरूले कैचिमोड–धाउन्ने, नाथिगाड–धपे मार्ग प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्