विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपाललाई
काठमाडौँ । नेपालले अपराजित रहेर आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ १ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको योगफल तयार पार्यो ।
नेपालका लागि आसिफले सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी दीपेन्द्रले ५३, लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले १७ रन बनाए ।
सामोआका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक विकेट लिए ।
जवाफी ब्याटिङमा सामोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।
प्रतिक्रिया राख्नुहोस्