तपाईँ सुन्दै हुनुहुन्छः

सडक र अस्पताल निर्माण प्राथमिकताका साथ भइरहेको छ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सडक र अस्पताल निर्माणको कामलाई  प्राथमिकताका साथ अगाडी बढाइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा आज भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्रलाईलाई प्राथमिकता दिएको र पालिकाहरूमा अस्पताल निर्माण, जनशक्ति व्यवस्थापनका लागि स्रोत र साधनको विनियोजन गरिरहेको बताउनुभयो ।

उहाँले सरकारले देशभित्र  गुणस्तरीय शिक्षा, रोजगारी र अन्य अवसरहरू सिर्जना गरी युवा पलायन रोक्न प्राथमिकताका साथ काम गरिरहेको पनि बताउनुभयो । 

सांसद प्रकाश ज्वालाले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले निर्माण कार्य सुरु भएका अधिकांश सडकहरू यसै आर्थिक वर्षमा सकिने हुनाले बजेट विनियोजनमा विशेष ध्यान दिइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम प्रभावकारी सावित भएको र हालसम्म यसको प्रगति करिब ५८ प्रतिशत रहेको भन्दै सरकारले उच्च प्राथमिकताका साथ बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

नागढुङ्गा सुरुङ मार्गको ८५ प्रतिशत प्रगतिसहित निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको, राप्ती लोकमार्गमा ६० करोड बराबरको स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडी बढाइएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।

उहाँले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको, सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको बताउनुभयो ।

उहाँले सरकारले निर्धारण गरेको खरिद मूल्यमा उखु खरिद गरी कृषकलाई तुरुन्तै भुक्तानी दिन उखु मिलहरूलाई निर्देशन दिइएको, दुग्ध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रकम भुक्तानी दिइसकेको जानकारी गराउनुभयो ।

सांसद प्रतीक्षा तिवारीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले तराई मधेशमा रहेका आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको र जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

उहाँले काठमाण्डौं–तराई मधेश द्रुत मार्गलाई शीघ्र सम्पन्न गर्न नेपाली सेनालाई जिम्मेवारी तोकिएको, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भई भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको जानकारी गराउनुभयो । 

सांसद प्रतिमा गौतमको प्रश्नको जवाफमा सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमै सम्पन्न गर्न पहल गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

उहाँले आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रहेको दायित्वमध्ये हालसम्म २२ अर्ब ४३ करोड ३६ लाख रुपैयाँ भुक्तानी भइसकेको जानकारी गराउनुभयो ।

सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफमा  प्रधानमन्त्री आलीले चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको भन्दै अर्थतन्त्र सुधारका लागि भएका  कामबाट नतिजाहरू देखिन थालेको बताउनुभयो ।  

उहाँले कानुनमा भएका अप्ठ्याराहरूलाई हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेको बताउनुभयो । 

उहाँले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधार तर्फ लैजान अध्यादेश ल्याउनुपरेको स्पष्ट समेत पार्नुभयो ।

सांसद डा. प्रकाश शरण महतले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न सरकारले काम गर्ने बताउनुभयो ।

उहाँले विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

सांसदहरु प्रभु हजारा, प्रेमबहादुर आले, प्रेम सुवाल, प्रेमबहादुर महर्जन र प्रभु शाह गरी १० जना सांसदहरुले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्नुभएको थियो । 

सांसदहरुले प्रधानमन्त्री ओलीलाई शिलान्यास भएका १ सय ६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू निर्माणको अवस्था, बजेटको व्यवस्थापन, जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण, मधेश प्रदेशमा राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगति, चुरे दोहन अन्त्य लगायतका विषयमा प्रश्न गर्नुभएको थियो । 

सांसदहरुले मंहगी नियन्त्रण, अर्थतन्त्र चलायमान बनाउन सुधारका लागि भइरहेका पहल, अध्यादेशको आवश्यकता र यसको पुष्टि, स्थानीय तहमा अस्पताल निर्माण, पूँजीगत खर्च बढाउन भइरहेका काम, समाजवादलाई व्यवहारमा कार्यान्वयन गर्न भइरहेका प्रयास लगायतका विषयमा पनि प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको थियो ।

सदनमा सांसदको प्रश्न, प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button