तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन प्रवद्र्धन, महँगी नियन्त्रण र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले सुशासन प्रवद्र्धन, महँगी नियन्त्रण र किसानका समस्या समाधानका लागि प्रभाकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसदहरूले मुलुक निरन्तर रुपमा अति भ्रष्टाचार हुने देशको सूचीमा परिरहनुको कारण खोजी गरी नियन्त्रणका उपायहरू खोज्न, तरकारीमा हानिकारक विषादीको प्रयोग नियन्त्रणका लागि उचित कदम चाल्न, कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि व्यावसायिक जडीबुटी खेतीको प्रवद्र्धन गर्ने तथा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै बैठकमा सांसदहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम र दुई दिनको पाहुना भनि दिनुभएको अभिव्यक्ति प्रति सरकारको जवाफको माग गर्नुभयो । बैठकमा सांसदहरुले राष्ट्रिय सभाका सदस्यहरूको कार्यक्षमता र सभाको औचित्यमाथि प्रश्न उठाउने अभिव्यक्तिप्रति खेद प्रस्ताव पारित गर्न समेत माग गर्नुभयो । 

यस्तै सांसदहरुले माघ २६ गते सल्यानमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा भएको आगलागीबाट पुगेको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न, जातीय विभेद र सामाजिक न्याय विरुद्धका घटनाहरू नियन्त्रण गर्न उचित कदम चाल्न तथा १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सम्बन्धमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button