तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडी गोठ

ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन । शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । 

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडी गोठ जोखिममा रहेको उहाँले बताउनुभयो । 

आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ । अध्यक्ष मगरले भन्नुभयो, “आगलागी भएको क्षेत्र निसीखोलाका किसानहरुले भेडा चरनका रुपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको सङ्ख्यामा भेडाबाख्रा छन्, ती सबै आगलागीको जोखिममा छन् ।” आगलागीको कारण अझै पत्ता लागेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button