बाँकेमा हात्तीपाइले रोग निवारण अभियानलाई सफल बनाउन अध्यक्ष शाहको अपिल
बाँके। बाँकेमा हात्तीपाइले रोगको जीवाणु समुदाय स्तरमा फैलिएको पुष्टि भएपछि सोमबार नेपालगन्ज र बुधवारदेखि डुडुवा, नरैनापुर र बैजनाथका जोखिमयुक्त वडामा औषधि खुवाउने तयारी पूरा भएको छ।
स्वास्थ्य कार्यालय बाँकेले जनाए अनुसार, २०६६ सालदेखि राष्ट्रिय अभियान अन्तर्गत बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ।तर, बाँकेका चार स्थानीय तहमा हात्तीपाइले रोगको जीवाणु समुदाय स्तरमा फैलिएको देखिएको छ।
स्वास्थ्य कार्यालय बाँकेले नरैनापुरमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जनस्वास्थ्य समस्याको रूपमा रहेको यो रोगलाई निवारण गर्न अनिवार्य औषधि सेवन गर्न आग्रह गर्दै भने, “स्थानीय तहबाट सेवा लिन जाँदा औषधि सेवन गरेको कार्ड भए मात्र सेवा दिने गरी तयारी गरिएको छ, त्यसैले सबैलाई औषधि सेवन गर्न अपिल गर्दछु।
“स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले बाँके जिल्ला हात्तीपाइले रोग निवारण घोषित हुन नसक्दा चिन्ता व्यक्त गर्दै भने, “केही पालिकाभित्रका वडामा औषधि सेवन नगरेको कारण हामीले जिल्लालाई रोग निवारण गर्न सकेका छैनौं। अब औषधि सेवन गर्नुको विकल्प छैन।”इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले औषधि नखाँदा हात्तीपाइले रोगको परजीवी समुदायमा फैलिने जोखिम रहेको बताए।
उनले भने, “हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि मात्र संक्रमण दर घट्ने हो, नत्र अझ बढ्ने जोखिम छ।”स्वास्थ्य कार्यालय बाँकेले गरेको सर्वेक्षण अनुसार, नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा हात्तीपाइले रोगका सङ्क्रमित २० जना फेला परेका छन्, भने डुडुवा र बैजनाथ गाउँपालिकामा पनि सङ्क्रमित पाइएको छ।
नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको थियो, तर त्यो पूरा नगरेपछि सन् २०३० सम्म दिगो विकास लक्ष्य अनुसार निवारण गर्ने नयाँ लक्ष्य तय गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्