कीचकबध मेला आज भद्रपुरमा : झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा
भद्रपुर, झापा। झापाको सदरमुकाम भद्रपुरमा आज महाभारतकालीन किंवदन्ती सँग जोडिएको ऐतिहासिक कीचकबध धार्मिक मेला सुरु भएको छ। प्रत्येक वर्ष माघे शुल्क पूर्णिमा अर्थात् स्वस्थानी व्रतको अन्तिम दिन कीचकबध मेला आयोजना हुँदै आएको छ।
कीचकबध धार्मिक स्थलमा भद्रपुर नगरपालिका-२ र ३ नं वडामा अवस्थित पोखरीमा भक्तजनहरूको आगमन आज बिहानैदेखि शुरु भएको कीचकबध धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले जानकारी दिनुभएकाे छ। भक्तजनहरूको सहजता र सुविधाका लागि सबै तयारी गरिसकिएको उहाँले उल्लेख गर्नुभयो।
कीचकबधको धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमाका दिन स्वतःस्फूर्त पानी आउने विश्वास गरिएको छ। यस पोखरीमा स्नान गर्दा मनोकामना पूरा हुने धार्मिक मान्यता छ। भक्तजनहरू पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा-अर्चना गर्ने र परेवा उडाउने प्रचलन पनि रहेको छ। महाभारतकालका भीमसेनले कीचकलाई वध गरेको स्थलमा भक्तजनहरू पूजा अर्चना गर्छन्।
कीचकबध मेला झापा लगायत पूर्वका विभिन्न जिल्लासम्म, साथै छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरूको ठूलो उपस्थिति रहने गर्दछ।
महाभारतको किंवदन्ती अनुसार, विराट राजाका सालो कीचकले पाण्डवहरूको रानी द्रौपदीको रूप र यौवनमा कुदृष्टि राख्दा, भीमसेनले उनलाई मुड्क्याएर मारेको स्थानको रूपमा कीचकबध प्रसिद्ध छ।
आजको कीचकबध मेलाको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय सार्वजनिक विदा घोषित गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्