तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीले समुदायमा आधारित समाजवादलाई मुख्य कार्यदिशा बनाएको छ : अध्यक्ष दाहाल

काँक्रेविहार (सुर्खेत) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले समुदायमा आधारित समाजवादलाई अहिले मुख्य कार्यदिशा बनाएको बताउनुभयो । माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै आज उहाँले पार्टीले जितेका स्थानीय तहमा कार्यदिशाअनुसार कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न निर्देशन दिनुभयो । 

“स्थानीय विशेषता, भौगोलिक, जातीय, सामाजिक बनोटबमोजिम कार्यक्रम विकास गरेर अघि बढौँ । समुदायमा आधारित समाजवादलाई आधार मानेर हामीले जितेका स्थानमा काम गरौँ”, अध्यक्ष दाहालले भन्नुभयो । 

उहाँले नेतृत्व कसैले चाहेर रातारात बन्ने कुरा नभएको र यो लामो सङ्घर्ष, जनता, कार्यकर्ता र आन्दोलनको परिणाम हो भन्नुभयो । अध्यक्ष दाहालले पार्टीको जीवनमा जनयुद्ध कालदेखि नै अन्तर सङ्घर्ष र एकताको क्रम चल्दै आएको उल्लेख गर्दै त्यसका बाबजुद पार्टी केन्द्रीकृत र एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले सरकारले ल्याएको अध्यादेश सदनलाई अवमूल्यन गरेर ल्याइएकाले पारित हुने स्थिति नरहेको बताउनुभयो । “सरकारले सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो, त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ । बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार छैन”, उहाँको भनाइ थियो । 

माओवादी केन्द्रको ध्यान हाल सरकारतिर नरहेको बताउँदै अध्यक्ष दाहालले गलत कार्य भनेर हेरेर नबस्ने स्पष्ट पार्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेकाले नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पार्टी एकताका कुरा भइरहेको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button