लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्रीको चासो
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/Facebook_creation_2378651995824938-1024x768.jpeg)
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गर्नुभएको छ ।
मङ्गलवार आयोजना स्थलमा पुग्नुभएका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिनुभयो । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका साथ अघि बढाएको यस आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले निगरानी बढाएको छ ।‘विशेषगरी, यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले जुन लक्ष्य र उद्देश्य बोकेर यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् भन्नका लागि सरकारले विशेष ध्यान दिएको छ ।’
प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताउनुभयो । ‘यही हिसाबले काम अघि बढ्यो भने तीन वर्षभित्र भवन सम्पन्न हुनेछ भन्ने आशा जागेको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यही आर्थिक वर्षमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने रिपोर्टिङ प्राप्त भएको छ । हालसम्मको कामलाई मूल्याङ्कन गर्दा सन्तोषजनक देखिएको छ ।’
यसरी भइरहेको छ काम:
लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको कामले तीव्रता पाएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य थालिएको हो । अस्पताल भवनको शिलान्यास गत भदौ १५ गते गरिएको थियो ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसन सँग २०८० पुस २६ गते भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । शिलान्यास भएको पाँच महिनाको अवधिमा १३ प्रतिशत काम पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिनुभएको छ । सम्झौता अनुसार १२ तले बन्ने यो भवन २०८५ पुस मसान्तसम्म सम्पन्न हुनुपर्नेछ ।
हाल दैनिक २१० जना कामदारहरू काममा खटिएका छन् । अहिले सबभन्दा तल्लो बेसमेन्टको काम भइरहेको छ । यसका लागि रड बुन्ने, बिच्छ्याउने, पिलर उठाउने र भुईँ ढलान गर्ने कार्य भइरहेको हो । नयाँ भवनको सबभन्दा माथि हेलिप्याड हुनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सी वार्डमा आउजाउ गर्न मिल्ने लिफ्ट पनि निर्माण हुनेछ । बेसमेन्टको कामसँगै लिफ्टका लागि पिलर उठाउने कार्य पनि भइरहेको छ ।
नयाँ भवन बनेपछि ओपिडी, इमर्जेन्सी सेवा यहीँबाट प्रदान गरिनेछ । ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन गरिनेछ। हाल उपचारका लागि प्रयोग गरिएका तीनवटा भवनका सेवा नयाँ भवनमा सारिने । पुराना भवनहरू डायग्नोस्टिक एन्ड रिसर्च, प्रसूति तथा महिला र बाल रोग उपचार का लागि प्रयोग गरिनेछ । त्यस्तै, अहिले निर्माण भइरहेको भवनको दक्षिणतर्फ क्यान्सर उपचारका लागि छुट्टै भवन निर्माण हुनेछ, जसको पनि जग खन्ने कार्य भइरहेको छ । उक्त भवन पाँचतले हुनेछ र एक सिङ्गल बेसमेन्ट रहनेछ ।
प्रतिक्रिया राख्नुहोस्