तपाईँ सुन्दै हुनुहुन्छः

खजुरा खोलाबाट भारी परिमाणमा अवैध नदिजन्य पदार्थ जफत

नवलपरासी, पश्चिमपश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलामा नदिजन्य पदार्थको चरम दोहन भइरहेको छ। प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर व्यापक रुपमा चोरी निकासी भइरहेको छ। हरेक बर्ष खजुरा खोलाको नदिजन्य पदार्थमाथि चोरी निकासी गर्नेहरुको गतिविधि निकै बढ्दै गएको छ।

नगरपालिकाले नियन्त्रणमा लिएका ट्र्याक्टरहरूसँगै, रातारात अवैध उत्खनन र डम्पिङ भइरहेको देखिन्छ। दिनदहाडै समेत चोरी निकासिमा सम्लग्न साधनहरू समातिएका छन्।

शुक्रबार र शनिबार मात्र, नगरपालिकाले अवैध रुपमा डम्प गरि राखिएका ९३ ट्याक्टर र २४ टिप्पर ढुङ्गा जफत गरेको नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले जानकारी दिए। साथै, ४ टिप मिस्कटसमेत जफत गरिएको बताए।

बर्दघाट नगरपालिकाले चालू आर्थिक वर्षमा खोला ठेक्का लगाएको थियो, तर आईईई प्रतिबेदनमा बन क्षेत्र देखिएको कारण नगरपालिकाले ठेक्का रद्ध गरेको थियो। बनले सहमती नदिएपछि ठेक्का रद्ध गर्नु परेको नगरपालिकाले जनाएको छ। यस कारण, अवैध उत्खनन र चोरी निकासीले खजुरा खोलामा नदिजन्य पदार्थको अभाव भएको छ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रहरी प्रशासन र नगर प्रहरीलाई अहोरात्र खटाई अवैध डम्पिङ नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन्। उनले भने, “ठेक्का पनि लागेन, खोला पनि रहेन भनेजस्तो छ। प्रहरी प्रशासन नगर प्रहरी खटाएकै छौं, चौबीसै घण्टा खोलामै कुर्न पनि सम्भव भएन, सक्दो नियन्त्रण गरेका छौं।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार, जफत गरिएका नदिजन्य पदार्थको खरिद बिल र स्टक बिल नभएको कारण बैधता छैन। नगरपालिकाले ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना र राजस्व काटेर पठाउने गरेको जानकारी दिएका छन्।

हालै, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख र जिल्लाको समन्वय समितिका प्रमुखहरूले खजुरा खोलाको स्थलगत अवलोकन गरेका थिए। स्थलगत अवलोकनका क्रममा नदिजन्य पदार्थको ठूलो परिमाणमा चोरी निकासी भएको देखिएको थियो। जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव “रुदल”ले भने, “जताततै नदिजन्य पदार्थ चोरी हुने गरेको छ, तर अर्को कुरा राज्यको नीति पनि स्पष्ट छैन। बन क्षेत्रले सहमति नदिएपछि ठेक्का लाग्दैन, ठेक्का नलाग्दा व्यापक चोरी हुन्छ।”

यही कारणले, मिस्कट ढुङ्गा, गिट्टी र बालुवाको अभावमा विकास निर्माणका काममा पनि कठिनाई उत्पन्न भइरहेको छ। प्रमुख यादवले भने, “राज्यले एउटा मापदण्ड बनाउन जरुरी छ।”

बर्दघाट नगरपालिकाको वडा नम्बर ५, १४ र १६ बाट चोरी निकासी हुने गरेको नगरपालिकाले जनाएको छ। यद्यपि, नगरपालिका यसअघि पनि अवैध डम्पिङ जफत गर्दै आएको छ, तर चोरी निकासी नियन्त्रण भने हुन सकेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button