बर्दघाटका स्वास्थ्य संस्थाहरू किशोर-किशोरी मैत्री घोषणा
नवलपरासी,पश्चिम्।नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका स्वास्थ्य संस्था किशोर किशोरी मैत्री घोषणा भएका छन् । किशोर-किशोरीहरूका लागि सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नगरका १७ वटा स्वास्थ्य संस्थालाई किशोर-किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएका हुन।
बर्दघाट नगरका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाको सहकार्यमा दीर्घकालीन रूपमा किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो। घोषणा गरेका विषयलाई सबैको सहकार्य बाट मात्रै दीर्घकालीन बनाउन सकिने उल्लेख गर्नु भयो । भौतिक बिकास मात्रै नभै सामाजिक बिकास पनि महत्वपूर्ण हुने श्रेष्ठले बताउनु भयो ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले किशोर-किशोरीहरूलाई सकारात्मक सोच र जिज्ञासु स्वभावको विकास गराउनु पर्ने आजको आवश्यकता रहेको उल्लेख गर्नु भयो। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले किशोर-किशोरीहरूले “नगर हाम्रो लागि छ” भन्ने अनुभूति गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो।
किशोर किशोरी मैत्री हुनका लागि सेवाको पहुँचता, गोपनीयता र विश्वास, योग्य र प्रशिक्षित स्वास्थ्यकर्मीले सेवा, जानकारी र शिक्षा,सामुदायिक सहभागिता, लैङ्गिक समानता र समावेशिता जस्ता मापदण्डहरू रहेका छन्। पूर्वाधार विकास समितिका सभापति एवं वडा नं. ९ का अध्यक्ष चन्द्रकान्त चापागाईँले घोषणालाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो।
कार्यक्रममा बोल्दै बर्दघाट प्राज्ञ प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेले किशोर-किशोरीहरूको व्यवहारलाई बुझ्न मनोविज्ञानसम्बन्धी ज्ञान आवश्यक पर्ने उल्लेख गर्नु भयो। त्यस्तै स्वास्थ्य संस्थाहरूको तर्फ बाट बोल्दै पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिल्सिनाले स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक र समुदायबाट नै किशोर-किशोरी मैत्री व्यवहार हुनुपर्ने बताउनु भयो।
नगरपालिकाले स्वास्थ्य संस्थाहरूका लागि तोकिएको ४५ वटा सूचकमध्ये कम्तीमा ८० नम्बर प्राप्त गरेका संस्थाहरूलाई छनोट गरेको हो। हाल नगरपालिका भित्र ७ हजार ४६ किशोर र ६ हजार ६ सय ९९ किशोरी रहेका नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनु भयो। किशोर किशोरीलाई लक्षित गरी स्वास्थ्य सेवा सुधारको पहल समेत गरिएको ज्ञवालीले बताउनु भयो।
नगरपालिकाले किशोर-किशोरीलाई लक्षित गर्दै लागूपदार्थ दुर्व्यसन नियन्त्रण, आत्महत्याको रोकथाम, मानसिक स्वास्थ्य सुधार, तथा सुरक्षित यौन व्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्