तपाईँ सुन्दै हुनुहुन्छः

खजुराबाट उत्पादित स्थानीय प्रजातिका चल्ला विक्री वितरण सुरु, ३३ लाख भन्दा बढी आम्दानी

बाँके। बाँकेको खजुरामा स्थित कुखुरा विकास फर्मले अब स्थानीय प्रजातिको कुखुराको अनुसन्धान, उत्पादन र बजारिकरणको प्रक्रिया सुरु गरेको छ।

फर्मका प्रबन्धक डा. सुमन खनालका अनुसार, फर्मले स्थानीय कुखुराको चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, तथा नविनतम जातका पंछिहरु जस्तै कालिज र बट्टाईको अनुसन्धान गर्दै कृषकलाई प्राविधिक सेवा प्रवाह गर्दै आएको छ। फर्मले स्थानीय रैथाने जातिको संरक्षण गर्दै ७ विभिन्न जातिका कुखुरा र रिङ्गनेक कालिजको उत्पादन र संरक्षणमा ध्यान केन्द्रित गरेको छ। यसमा घाँटीखुईले, उल्टे, साकिनी, खजुरा साकिने, कडकनाथ, ब्ल्याक अस्टलोप र न्यू हेम्पसार जातिका कुखुरा समावेश छन्।

डा. खनालले बताउनुभयो, “हप्तामा एक पटक सोमबार एकदिने चल्ला प्रतिगोटा रु. ४५ मा सिधै फर्मबाट उपलब्ध गराइन्छ। साथै, ४ हप्तादेखि ८ हप्तासम्मका चल्ला किसानलाई प्रदेश सरकारले तोकेको मुल्यमा उपलब्ध गराइन्छ।”

व्यवसायिक कुखुरा पालक किसानहरूका लागि फर्मबाट उत्पादित चल्ला स्वस्थकर, सस्तो मूल्य र कम लागतमा उत्पादन हुने भएकाले यो किसानहरूको रोजाइ बनेको छ।

अघिल्लो आर्थिक वर्षमा १ लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएको भए तापनि फर्मले १ लाख ८१ हजार ९ सय ६६ चल्ला उत्पादन गरी किसानलाई उपलब्ध गराएको छ। यस आर्थिक वर्षको माघ २१ गतेसम्म ७० हजार चल्ला उत्पादन भएको जानकारी फर्मले दिएको छ।

यसैगरी, फर्मले माघ २१ गतेसम्म १ लाख १८ हजार ९ सय २८ वटा अण्डा उत्पादन गरेको छ। गत वर्षको तुलनामा, यस वर्षको उत्पादनमा वृद्धि भएको छ। अण्डा ग्रेडिङ्ग गरेर, चल्ला उत्पादनमा पठाइन्छ र, चल्ला उत्पादन हुन नसक्ने अवस्थामा अण्डा प्रतिगोटा ९ का दरले विक्री गरिन्छ।

फर्मबाट उत्पादित अण्डा, एकदिने चल्ला, प्यारेन्ट कुखुरा, कुखुराको मल र बोरालगायतका उत्पादनहरूको विक्रीबाट ३३ लाख ३९ हजार ४ सय १३ रुपैया आम्दानी भएको छ। अघिल्लो आर्थिक वर्षमा १ करोड ७ लाख २ हजार १ सय ९ रुपैया आम्दानी भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button