तपाईँ सुन्दै हुनुहुन्छः

हातेमालोलाई हराउँदै अभिषेक चर्च बखान च्याम्पियनसिपको सेमिफाइनलमा

चितवन । अभिषेक चर्च रजहर तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (आइतबार) सम्पन्न अन्तिम क्वाटर फाइनलमा अभिषेक चर्चले परिवर्तन हातेमालो युथ सोसाइटीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

बखान मिनी रगंशालामा भएको प्रतिस्पर्धात्मक खेलमा अभिषेक चर्चले हातेमालोलाई २–१ ले हरायो । खेलको पहिलो हाफमा अभिषेक चर्चले हातेमालोलाई दबाबमा राखेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सन्दीप मल्लले २७ औँ मिनेटमा गोल गर्दै अभिषेक चर्चलाई अग्रता दिलाए ।

दोस्रो हाफमा भने हातेमालो हाबी भएको थियो । उसले लगातार आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन । खेलको अन्तिम मिनेटमा अभिषेक चर्चले गरेको काउन्टर अट्याकमा गणेश हमालले गोल गर्दै अग्रता दोब्बर बनाए । अतिरिक्त समयको तेस्रो मिनेटमा विपिन कँडेलले हातेमालोका लागि एक गोल गरे ।

बाँकी समयमा गोल हुन सकेन र अभिषेक चर्च विजयी भयो । खेलको अतिरिक्त समयमा अभिषेक चर्च १० खेलाडीमा सीमित भएको थियो । उसको हेनरीले दोहोरो पहेँलो कार्ड पाएका थिए । उनले अब सेमिफाइनल गुमाउनेछन् । अभिषेक चर्चका गणेश हमाल प्लेयर अफ दि म्याच भए ।

अभिषेक चर्चले अब फाइनल प्रवेशका लागि २९ गते दोस्रो सेमिफाइनलमा सूर्यपुर एफसीको सामना गर्नेछ । त्यस अघि सोमबार पहिलो सेमिफाइनलमा शारदा युथ क्लब शारदा नगर र पटिहानी एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । 

फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button