तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको बैजनाथमा १८ बर्षीय किशोरको हत्या, हत्या आरोपमा दुई जना पक्राउ

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा एक युवकको चक्कु प्रहारबाट हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिकाको वडा नम्बर ८ का १८ वर्षीय दिनेश रोकायको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले सोही गाउँपालिकाका दुई जनालाई पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ६ का १७ वर्षीय एक किशोर र वडा नम्बर २ का ३५ वर्षीय रामबहादुर राना रहेका छन् । प्रहरीले पक्राउ परेका ती किशोरको परिचय भने खुलाएको छैन ।

प्रहरीका अनुसार दिनेशलाई विवाह कार्यक्रममा उनीहरूले माघ २५ गते कुटपिट गर्दै गम्भीर घाइते बनाएका थिए । सुरुमा दिनेशलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइए पनि उपचार सम्भव नभएपछि लखनउ लगिएको थियो । दिनेशको लखनउमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार कुटपिटबाट अन्य ६ जना घाइते भएका छन् भने उनीहरूको कोहलपुरमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ परेका दुई जनासँग थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button