तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदका दुबै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची?

काठमाडौं । आज (आइतबार) संघीय संसदका दुबै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १:०० बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन, २०८१ पेस गर्नुहुनेछ। यस्तै, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ फिर्ता लिन प्रस्ताव पेस गर्नुहुनेछ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णायार्थ पेस गरिने छ।

आजको बैठकमा गृह मन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, नेपाल प्रहरी विधेयक २०८१, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लगायतका विधेयकहरूको प्रस्तुति प्रस्ताव गर्नुहुनेछ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा समाज (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

कानून मन्त्री अजयकुमार चौरासियाले विधायन विधेयक, २०८१ को पारित प्रस्ताव पेस गर्नुहुनेछ।

यद्यपि सरकारले आजको बैठकमा अध्यादेशलाई कार्यसूचीमा समावेश गरेको छैन।

राष्ट्रिय सभा बैठक पनि आजै दिउँसो १:१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।

संघीय संसद सचिवालयका अनुसार, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा समक्ष पेस गर्नुहुनेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button